Media Network

चिनियाँ विदेशमन्त्री वाङ चैतको दोस्रो साता नेपाल आउँदै


खबरस्टोरी संवाददाता

१ चैत्र २०७८,मंगलवार

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारीमा रहेका छन् । आउँदो चैत दोस्रो साता विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा रहेको परराष्ट्र स्रोतले बताएको छ । केही दिनअघि मात्रै परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालमा विशेष ब्यक्तिको भ्रमण हुन लागेको संकेत पत्रकारहरुलाई दिएका थिए । तर उनले को आउने सार्वजनिक गरेनन् । केही दिनपछि सार्वजनिक गर्नेछौं, मन्त्री खड्काले भनेका थिए । 

नेपालमा संसदबाट अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)  अनुमोदन गरिएपछि पहिलो पटक चिनिया विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् । पछिल्लो समय नेपालमा एमसीसी अनुमोदन गर्ने नगर्ने रस्साकस्सी भइरहेकाबेला अमेरिकाले दिने उपहार पनि अल्टिमेटमसहितको भन्दै चीनले ब्यङग्य गरेको थियो । 

एमसीसीको विषयमा बेइजिङ र अमेरिकाको जुहारी नै चलेको थियो । चीनले प्रतिवाद गर्नेसम्मको चेतावनी दिएपछि अमेरिकाले विज्ञप्ति जारी गरी विकासका लागि दिएको अनुदान स्वीकार्ने नस्वीकार्ने नेपालीको जिम्मा भएको उल्लेख गरेको थियो । 

विरोधकाबीच नेपालको संसदबाट एमसीसी अनुमोदन गरिएपछि उत्तरी छिमेकी मुलुक चीनले नेपाल भ्रमणका लागि प्रतिनिधिमण्डल पठाउन खोज्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपालका राजनीतिक दलको कुनै स्पष्ट अडान र कुटनीतिक मामिलामा पनि कमजोर देखिदै गएकाले चिनिया विदेशमन्त्रीको भ्रमणले अर्को उथलपुथल हुन सक्ने कुटनीतिक विज्ञहरु बताउँछन् । 

वाङको नेपाल भ्रमणको विषयमा परराष्ट्र मन्त्रालयले अन्य मन्त्रालयसँग सम्भावित एजेन्डाको विषयमा गृहकार्य गरिरहेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै राजधानी दैनिकले पनि समाचार लेखेको छ । 

नेपालमा एमसीसी संसद्बाट पारित भएपछि चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमणमा आउने तयारीमा लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक चिनियाँ विदेशमन्त्री वाङ नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाहुना हुनेछन् । 

सरकारी अधिकारीका अनुसार पछिल्लो समय चीनले अमेरिकी सम्झौता पास भएपछि चासो देखाइरहेका छन् । 

टर्की भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री खड्काले विभिन्न मन्त्रालयका उच्च कर्मचारीलाई डाकेर चिनियाँ विदेशमन्त्रीको भ्रमणको तयारी गर्न निर्देशन दिइसकेका छन् । त्यस्तै, सोमबार नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्रमन्त्री खड्कासँग टेलिफोन संवाद गरी चिनियाँ विदेशमन्त्री वाङको भ्रमण तयारी’बारेमा कुराकानी गरेकी थिइन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद