काजकिस्तानका राष्ट्रपति कसिम जोमार्ट टोकायभले मन्त्रिमण्डलमा रहेका सदस्यलाई बर्खास्त गर्दै संकटकाल घोषणा गरेका छन् ।
इन्धनको मूल्य बढेको विरोधमा भएको जन प्रदर्शन फैलिँदै गएपछि काजकिस्तानको सबैभन्दा ठूलो शहर अलमाटी र धेरै तेल खानी रहेको पश्चिमी क्षेत्र माङगिस्ताउमा संकटकाल घोषणा गरिएको हो ।राष्ट्रपति टोकायभले संकटकाल २ हप्तासम्म जारी रहने र सो क्रममा राति ११ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यू लाग्नुका साथै हिडडुल तथा ठूला जमघटमाथि प्रतिबन्ध लाग्ने समेत प्रस्ट पारेका छन् । बुधबार बिहान टोकायभले प्रधानमन्त्री अस्कर मामिनसहित सबै मन्त्रीहरूको राजीनामा स्वीकृत गरेको जानकारी दिँदै कार्यबाहक मन्त्रीलाई तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) को मूल्य नियन्त्रणका उपाय पुनः चाल्न आदेश दिएका छन् ।