काठमाडौं । चिकित्सा अनुसन्धानका लागि दान गरिएका शवहरूबाट मानव अङ्ग चोरी गरी बिक्री गरेको अभियोगमा हार्भर्ड मेडिकल स्कुलको शवगृहका पूर्व प्रबन्धक सेड्रिक लजलाई आठ वर्षको जेल सजाय सुनाइएको छ ।
सन् २०२३ मा पक्राउ पर्नुअघि दुई दशकभन्दा बढी समय शवगृहको व्यवस्थापन सम्हालेका ५८ वर्षीय लजलाई पेन्सिलभेनियाका एक जिल्ला न्यायाधीशले मंगलबार यो सजाय सुनाएको कतारी समाचार च्यानल अलजजिराले जनाएको छ ।
सरकारी वकिलहरूले अदालतमा पेस गरेको प्रतिवेदनअनुसार लजले शवगृहमा रहेका शवहरूबाट टाउको, मस्तिष्क, छाला र हातहरू निकालेर न्यु ह्याम्पशायरस्थित आफ्नो घरमा लैजाने र त्यहाँबाट विभिन्न व्यक्तिहरूलाई बिक्री गर्ने गरेका थिए । उनले राज्यका सीमाहरू पार गरी चोरीका सामान ओसारपसार गरेको अभियोगमा गत मे महिनामा आफ्नो गल्ती स्वीकार गरेका थिए ।
अभियोजकहरूले यस कार्यलाई अन्तस्करणलाई स्तब्ध बनाउने र बीभत्स वस्तुहरूको सौखिन समुदायको मनोरञ्जनका लागि गरिएको घृणित कार्य भनेका छन् । यस प्रकरणमा लजकी पत्नी डेनिसलाई पनि चोरीका अङ्गहरूको बिक्रीमा सहयोग पु¥याएको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको छ । उनले पेन्सिलभेनियाका दुई व्यक्तिलाई अङ्गहरू बेच्न मद्दत गरेकी थिइन्, जसले पछि ती अङ्गहरू पुनः अरूलाई बेचेका थिए ।
सरकारी वकिलहरूले लजका कारण अनगिन्ती परिवारहरूमा गहिरो भावनात्मक चोट पुगेको र आफ्ना प्रियजनका शवहरूको दुव्र्यवहार भएको सुन्दा उनीहरू मर्माहत भएको उल्लेख गरेका छन् ।