अमेरिका र इजरायलले एक साथ इरानमाथि हमला गरि सर्वोच्च नेता अयातुल्लाह अली खामेनेईको हत्या गरेपछि इरान कडा प्रतिआक्रमणमा उत्रिएको छ ।
खामेनेई मारिएपछि मध्यपूर्वको अवस्था अत्यन्त तनावपूर्ण बनेको हो । इजरायल र अमेरिकाले इरानमाथि निरन्तर हमला गरिहेको छ भने इरानले इजरायलसहित मध्यपूर्वका आधा दर्जन बढी देशमा एक साथ हमला जारी राखेको छ ।
इरानका खतराक अभियान, एक नेपालीको मृत्यु
यता इरानी सेनाले अब अहिलेसम्मकै सबैभन्दा खतरनाक अभियान सुरु गर्न लागेको चेतावनी दिएको छ । इरानले इजरायलसहित मध्यपूर्वका विभिन्न देशहरूमा जवाफी हमला सुरु गरिसकेको छ । आइतबार इरानले इजरायलमा गरेको एक आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।
यस्तै, इरानले संयुक्त अरब इमिरेट्स (यूएई)ंलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले विदेशी नागरिक मारिएका छन् । संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको रिपोर्टमा आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक÷एक गरी तीन जना विदेशी नागरिकको मृत्यु भएको उल्लेख छ ।
इजरायल र अमेरिकाको निरन्तर हमला
यता, इजरायल र अमेरिकाले पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय भन्दा बढी बम प्रहार गरेको इजरायली वायुसेनाले जनाएको छ । ती आक्रमणहरूकै क्रममा इरानका सर्वोच्च नेता खामेनेई मारिएको दाबी गरिएको हो ।
शनिबार खामेनेईको कार्यालय परिसरलाई लक्षित गर्दै ३० वटा मिसाइल प्रहार गरिएको थियो । उक्त हमलामा उनकी छोरी–ज्वाइँ, बुहारी र नातिनी सहित परिसरमा उपस्थित करिब ४० जना कमान्डरहरूको ज्यान गएको बताइएको छ ।
इजरायल र अमेरिकाले तेहरानसहित इरानका १० ठूला सहरलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ । ती आक्रमणबाट २०० भन्दा बढी व्यक्तिको ज्यान गएको तथा ७४० भन्दा बढी घाइते भएको खबर छ । इजरायल अमेरिकाले एउटा विद्यालयमा मिसाइल खसाल्दा १४८ छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
इरानमा ४० दिनको राजकीय शोक
खामेनेईको हत्यापछि इरानमा ४० दिनको राजकीय शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियामा टीभी प्रस्तोताहरुले रुँदै खामेनेई मारिएको पुष्टी गरेका थिए । खामेनेईको शोकमा ४० दिन शोक घोषणा गर्दै सात दिन सार्वजनिक बिदा दिइएको छ ।