काठमाडौं । भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ ।
पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् ।
ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको थियो । आगलागीका कारण क्लबभित्र रहेका मानिसहरू भाग्न नपाउँदै धुवाँ र आगोको लप्कामा परेको गोवाका प्रहरी प्रमुख आलोक कुमारले बताए ।
मृतकमध्ये तीनजना महिला रहेका छन् भने तीन–चार जना पर्यटक पनि रहेका छन् ।
मुख्यमन्त्री सावन्तका अनुसार २३ मृतकमध्ये तीन जनाको जलेर मृत्यु भएको हो भने अन्यको निसास्सिएर मृत्यु भएको हो । प्रारम्भिक अनुसन्धानबाट क्लबले अग्नि सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको खुलेको उनले बताए ।
उनले सुरक्षाका मापदण्ड विपरीत क्लब सञ्चालन गर्न अनुमति दिने व्यवस्थापन र सरकारी अधिकारीमाथि पनि कारबाही गरिने स्पष्ट पारेका छन् ।
प्रहरीका अनुसार सबै २३ शवहरू बरामद गरी बाम्बोलिमस्थित सरकारी मेडिकल कलेज पठाइएको छ। घाइतेलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ भने रातभर स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी खटिएका थिए ।