निकोलस मादुरो अमेरिकी सेनाको कब्जामा


खबरस्टोरी संवाददाता
१९ पुष २०८२, शनिबार
निकोलस मादुरो अमेरिकी सेनाको कब्जामा

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अवस्था अझै अज्ञात छ ।

अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता उनी बेपत्ता छन् । तर अमेरिकी आक्रमणपछि अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका थिए ।

मदुरो र उनकी पत्नीलाई पक्राउ गरि देश बाहिर लगिएको अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन् ।  

भेनेजुएलाले अमेरिकी सेनाले शहरका आवासीय क्षेत्रमा समेत आक्रमण गरेको आरोप लगाउँदै ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।


किन अमेरिकाले कब्जा गर्यो मादुरोलाई ? 

६३ वर्षीय मदुरो लोकप्रिय नेता ह्युगो चाभेजका लामो समयका सहयोगी हुन्। क्यान्सरका कारण चाभेजको सन् २०१३ मा निधन भएको थियो।

त्यसपछि उनको उत्तराधिकारीका रूपमा मदुरो सत्तामा पुगेका थिए भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले उल्लेख गरेको छ। तर उनीसँग जनाधार भने थिएन।

मदुरो पूर्व बस चालक र श्रमिक संघका नेता थिए। उनको कार्यकालमा भेनेजुएलमा निरन्तर राजनीतिक अशान्ति र गहिरो आर्थिक संकट झेल्दै आएको पनि सिएनएनले लेखेको छ।

अमेरिकी प्रतिबन्धको विस्तार र देशको मुख्य आयस्रोत मानिने तेल उद्योगको प्रबन्ध राम्ररी नहुँदा मदुरोको कार्यकालमा आर्थिक संकट चरम अवस्थामा पुगेको बताइन्छ। सन् २०१७ मा मदुरोले विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभालाई छलेर राष्ट्रपतिको कार्यकाल बढाएका थिए।

यस कदमको विरोधमा राजधानी कराकासमा हप्तौँसम्म सडक प्रदर्शन भएका थिए। जसले देशलाई थप अस्थिर बनाएको थियो।

त्यसपछि सन् २०१८ मा भएको राष्ट्रपतीय निर्वाचनमा मदुरोले फेरि ६ वर्षे कार्यकाल जितेको घोषणा गरियो। तर विपक्षी दलहरू र अन्तर्राष्ट्रिय समुदायले उक्त निर्वाचनलाई अवैध भन्दै अस्वीकार गरे। यही कारण मदुरोको वैधतामाथि अन्तर्राष्ट्रिय स्तरमै प्रश्न उठ्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेनेजुएलामा उनी अवैध राष्ट्रपति भएको बताउँदै आएका छन्।