न्युयोर्कको एक सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु


खबरस्टोरी संवाददाता
१ जेष्ठ २०७९, आईतवार
न्युयोर्कको एक सुपरमार्केटमा अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु
एजेन्सी। अमेरिकाको न्युयोर्कस्थित बफेलो सुपरमार्केटमा एक किशोरले अन्धधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको छ।  सो गोलीकाण्डपछि एक १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको नाम भने खुलाएको छैन ।

गोली हान्नुअघि शंकास्पद व्यक्ति एउटा व्यस्त सुपरमार्केटमा शनिबार दिउसो प्रवेश गरेका थिए । एफबीआईले सोे गोलीबारीलाई ‘हिंस्रक अतिवाद’ भनेको छ । 

पछिल्लो गोलीकाण्डलाई जातीय उत्प्रेरित घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको छ । ‘हामी यो घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गर्दैछौँ’, एफबीआईको बफेलो कार्यालयका एजेन्ट स्टीफन बेलोन्जियाले भने । सहरमा अश्वेतहरूको बाहुल्यता रहेको क्षेत्रमा पुग्न ती शंकास्पदले घन्टौँसम्म सवारी चलाएको हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ । 

१३ जनामा गोली प्रहार गरिएको थियो र उनीहरूमध्ये अधिकांश अश्वेत रहेको बफेलो प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले बताए । तीन जना घाइतेलाइ भने ठूलो चोट नलागेको प्राप्त विवरणहरूमा जनाइएको छ । सुपरमार्केटमा सुरक्षा गार्डको रूपमा काम गरिरहेका एक सेवानिवृत्त प्रहरी अधिकारीले संदिग्धलाई गोली हान्न खोजेका थिए । तर, आक्रमणकारीको निशानामा उनी आफै परे ।