पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने


खबरस्टोरी संवाददाता
२० चैत्र २०७८, आईतवार
पाकिस्तानी राष्ट्रपतिद्वारा संसद् विघटन, ९० दिन भित्र निर्वाचन हुने
एजेन्सी।  पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन्  । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।  

संसद् विघटनसँगै उनले आगामी ९० दिन भित्र निर्वाचन गर्ने घोषणा पनि गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  प्रधानमन्त्री खानले संसद्‌मा आफू विरुद्धको अविश्वास प्रस्ताव पेश गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गरेको हो ।  

विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर निर्वाचनमा जान लागिएको उनले स्पष्ट परे । पाकिस्तानमा लामो समयदेखि विपक्षी दलहरूले प्रधानमन्त्री खान र उनि नेतृत्वको सरकार विरुद्ध आन्दोलन गर्दै आएका थिए ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आम नागरिकलाई आह्वान पनि गरेका छन् । विपक्षले आफु विरुद्ध गरेको अविश्वास प्रस्तावको विरोध गर्दै उहाँले यसलाई देशमाथि गरिएको ‘धोका’ को सज्ञा दिनुभएको थियो ।

प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताउनु भएको छ । उहाँले पाकिस्तानका युवालाई बाह्य शक्तिहरूले गरेको षड्यन्त्रविरुद्ध आन्दोलन गर्न र आवाज उठाउन भन्दै आफू अन्तिमसम्म सत्यको पक्षमा लडिरहने बताउनुभएको छ ।

खानले प्रतिपक्षी दलका नेताहरूले आफूहरूविरुद्ध लगाएका आरोपलाई जनमतद्वारा खारेज गरिदिने चेतावनी पनि दिएका छन्  ।