अदालतका १५ जना मध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन् । रुसी र चिनियाँ न्यायाधीशहरुले मात्र आदेशको विपक्षमा मतदान गरे ।
न्यायाधीशहरूले विवादलाई बढावा दिने वा फैलाउन सक्ने कुनै पनि कार्यबाट टाढा रहन युक्रेन र रसियालाई आदेश दिएका छन् । आफ्नो निर्णयमा अदालतले युक्रेनमा रूसको आक्रमणलाई अमेरिका र नेटोले जस्तो ‘युद्ध’ भनेर उल्लेख गरेको छैन ।
फैसलापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘युक्रेनले अन्तर्राष्ट्रिय अदालतमा रुसविरुद्धको मुद्दामा पूर्ण जित हाँसिल गरेको छ । ’ रुसले सो फैसला मान्नै पर्ने उनले बताए । ‘फैसला बेवास्ता गरेमा रुस थप एक्लिन सक्छ ’, उनले भने ।
सो फैसला धेरै हदसम्म प्रतिकात्मक हुन सक्छ । रूसी प्रतिनिधिहरू गत साता सुनुवाइमा देखा परेका थिएनन् । हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतका उच्च अभियोजनकर्ताले मार्चको सुरुमा युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधको अनुसन्धान गर्ने घोषणा गरेका थिए ।