७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।
राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।
राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको एजेन्सीहरुले जनाएका छन् । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।
राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुशीयाली मनाएका छन् ।
मङ्गलबार साँझ कोलम्बोको मुख्य प्रदर्शनीस्थल गाले फेस ग्रीन पार्कमा राष्ट्रपतिको राजीनामाको माग गर्दै हजारौं आन्दोलनकारी प्रदर्शनमा उत्रिएका थिए ।
श्रीलंकालीहरूले दशकहरूमा चरम आर्थिक संकटको लागि राष्ट्रपति राजापाक्षको प्रशासनलाई दोष दिएका छन् । महिनौंदेखि उनीहरू दैनिक बिजुली कटौती र इन्धन, खाना र औषधि जस्ता आधारभूत सामग्रीको अभावसँग संघर्ष गरिरहेका छन् ।
राष्ट्रपति रहँदा अभियोगबाट उन्मुक्ति पाएका नेताले नयाँ प्रशासनबाट गिरफ्तारीको सम्भावनाबाट बच्न पद त्याग्नुअघि विदेश पलायन हुन चाहेको बताइएको छ । (एजेन्सी)