Media Network

श्रीलंकाली राष्ट्रपति भवनमा प्रदर्शनकारीको ‘सेल्फी’ (फोटोफिचर)


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं । दक्षिण एशियाली मुलुक श्रीलंका केही समययतादेखि चरम आर्थिक संकटमा गुज्रिरहेको छ । महिनौंदेखि खाद्यान्न, इन्धनदेखि औषधिकोसमेत अभाव हुँदै आएको छ । 

श्रीलंकामा आर्थिक संकट उत्पन्न हुनुको कारक राष्ट्रपति गोटाबाया राजापाक्षे भएको आरोप त्याहाँका नागरिकले लगाउँदै आएका छन् । त्यसैले श्रीलंकाका राष्ट्रपति राजापाक्षेको माग गर्दै ब्यापारिक राजधानी कोलम्बोमा महिनौदेखि जनप्रदर्शनहरु हुँदै आएका छन् । 

आन्दोलनको गति बढ्दै जाँदा कोलम्बोमा शनिबार अहिलेसम्मकै सबैभन्दा ठूलो जुलुस निस्कियो । विशाल जुलुस राष्ट्रपति भवनतिर अगाडि बढ्यो । त्यतिन्जेल राष्ट्रपति राजापाक्षेले राष्ट्रपति भवन छाडिसकेका थिए । 

ठूलो सुरक्षा घेरा तोड्दै अघि बढेका प्रदर्शनकारीहरु राष्ट्रपति भवनमै प्रवेश गरे । हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले राष्ट्रपति भवन प्रवेश गरी कब्जा जमाए । यति ठूलो प्रदर्शनकारीको वेग थाम्ने साहस सुरक्षाकर्मीले गर्ने सकेनन् । 

राष्ट्रपति राजापाक्षेको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले राष्ट्रपति भवन नै कब्जा गरेपछि यहि जुलाइ १३ मा राजीनामा दिने घोषणा गरेका छन् । 

भिषण प्रदर्शनपछि शनिवार नै राष्ट्रपति राजापाक्षेले राजीनामा दिने भनी सभामुखलाई जानकारी गराएका थिए । तर राष्ट्रपतिको राजीनामा नआउँदासम्म प्रदर्शनकारीहरुले राष्ट्रपति भवन नछाड्ने बताएपछि जुलाइ १३ मा राष्ट्रपतिको राजीनामा आउने सोमवार पुनः प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  


राष्ट्रपतिको आलिशान महलमा ‘फोटोसेसन’

राष्ट्रपतिको राजीनामा नआउँदासम्म शनिवार कब्जा जमाएको राष्ट्रपति भवन प्रदर्शनकारीहरुले छाड्न मानिरहेका छैनन् । 

बरु मुलुक चरम आर्थिक संकटमा गुज्रिएर इन्धनदेखि दैनिक उपभोग्य वस्तु खरिद गर्न नागरिकहरु घण्टौं लाइनमा बसिरहँदा राष्ट्रपति राजापाक्षेले विलासी जीवन विताइरहेको भन्दै त्यही दरबारमा यतिबेला श्रीलंकाली नागरिकले रमाइलो गरिरहेका छन् । 

आफ्नो जीवनकालमा श्रीलंकाका राष्ट्रपतिको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गर्ने सपना कहिल्यै नदेखेकाहरु पनि राष्ट्रपति भवनमा आएर फोटोशेसन गरिरहेका छन् । 

देशकै सबैभन्दा सुरक्षित भवनहरू मध्येको एक मानिएको ठूलो राष्ट्रपति भवनमा हजारौं सर्वसाधारणहरु ‘सेल्फी’ खिचिरहेका छन् । राष्ट्रपति भवन हेर्न सर्वसाधारणको भिँड लागिरहेको छ । 

राष्ट्रपतिको आलिसान सरकारी महलका वास्तुकलाहरु निकै लोभलाग्दा छन् । जसले त्याहाँका सामान्य नागरिकहरुलाई लोभ्याइरहेको छ । 

राष्ट्रपति भवनमा परिसरमा रहेको विशाल बगैंचामा सुन्दर तस्विर खिच्नेदेखि आकर्षक मेचहरुमा बसेर खाजा खाइरहेको दृष्य निकै रोचक देखिएको छ । 


शनिवार विशाल नागरिकको प्रदर्शनपछि राष्ट्रपति नै भाग्य बाध्य भएका थिए । राष्ट्रपति नै भागेपछि भवनमा प्रवेश गरेका प्रदर्शनकारीहरुले राष्ट्रपति भवन परिसरको पौडी पोखरीमा निकै रमाइलो मानी मानी पौडी खेलिरहेका छन् । 

जनताले बनाएको जनताको पैसाले बनाएको आलिसान महल जनताको जनताको दरबार भन्दै प्रतिक्रियाहरु दिइरहेका छन् । 

हजारौं महिला, पुरुष, बालबालिकाहरु दरबार भित्र प्रवेश गर्ने प्रयास गरिरहँदा आन्दोलनकारीका अगुवाहरुले भीँडलाई नियन्त्रण गरिरहेका छन् । 

श्रीलङ्काका प्रहरी र विशेष सुरक्षा फौजहरू एउटा कुनामा उभिएर चुपचाप हेरिरहेका देखिन्छन् । 

मानिसहरू एक कोठाबाट अर्को कोठामा घुमिरहेका छन् । टेकवुड डेस्क र चित्रहरूको अगाडि, र बैठक कोठामा पलहरूमा उभिएर सर्वसाधारणहरु ‘सेल्फी’ खिच्न आतुर देखिएका छन् । 

केही प्रदर्शनकारीहरुले कतै कतै भने कुर्सीहरू, झ्यालहरू तोडफोड गरे पनि त्यस्तो असामान्य अवस्था भने भएको देखिदैन । 

राष्ट्रपति बस्ने सुन्दर दरबारको अवलोकन गर्न पाउँदा आफ्नो सपना पूरा भएको सर्वसाधारणको प्रतिक्रिया छ । आफूहरु मट्टीतेल, ग्यास र खानाको लागि लामो लाइनमा पर्खिरहँदा राजापाक्षहरू फरक जीवन बिताइरहेकामा दरबार नियाल्दै गर्दा उनीहरुको आक्रोश पोखिएका छन् । 


दरबार परिसरमा आन्दोलनकारी ‘स्वयंसेवक’

राष्ट्रपति भवनमा रहेको ठूलो संख्याका भीँडमा आन्दोलनकारीहरुबाटै स्वयंसेवकहरु खटिएका छन् । 

ठूलो भीँडभाडकाबीच भागदौडको खतरा पनि उत्तिकै छ । सुरक्षाकर्मीहरु मुकदर्शक भएर हेरिरहेका छन् । तर आन्दोलन आयोजकहरु नै दरबार अवलोकन गर्न आएका सर्वसाधारणको स्वयंसेवामा खटिएका छन् । 

राष्ट्रपति भवन परिसरकारे स्विमिङ पुलले अधिकांशको ध्यान आकर्षित गरिरहेको छ । शनिबार प्रदर्शनकारीहरूले पौडी खेलिरहेको भिडियो सामाजिक सञ्जालहरुमा पनि भाइरल बनेको थियो । 


(एजेन्सीहरुको सहयोगमा)


Share:
Reaction :
ताजा समाचार
खेलकुद