युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी


खबरस्टोरी संवाददाता
१४ फाल्गुन २०७८, शनिबार
युक्रेन मामिलामा हस्तक्षेप गरे आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी

एजेन्सी।  युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने रुसले चेतावनी दिएको छ ।  युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । 

रुसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको देखिन्छ । यसैबीच, युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ । हिजो राति किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् भने जनजीवन कष्टकर बनेको छ । रुसको बमबारीबाट त्यहाँका धेरै घर ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घेरेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा युद्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको बताए ।

शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो रक्षामा आक्रमण गर्न आह्वान गर्दै भावनात्मक भिडियो सन्देश जारी गरका थिए । उनले यसका लागि जनतालाई तयार रहन आग्रह पनि गरेका थिए । 

युक्रेनले पनि रुसको विमान खसालेको दावी गरेको छ । तर, यसको निस्पक्ष पुष्टि भने भएको छैन । युक्रेनी रक्षा मन्त्रालयले किभमा बस्ने मानिसलाई रुसी सैनिकहरूमाथि आक्रमण गर्न पेट्रोल बम तयार गर्न पनि आग्रह गरेको छ ।