Media Network

पेट नचिरेरै गरिने 'कि होल सर्जरी' बिरामीका लागि बरदान


खबरस्टोरी संवाददाता

७ मंसिर २०७८,मंगलवार

जैविक कारणले पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । यसमा पनि प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताई रहेको हुन्छ । आझ भनौँ महिलाहरुलाई पाठेघरमा देखिने  समस्याले बढी सताई रहेको हुन्छ।  विश्वकै तथ्यांकलाई हेर्दा महिलालाई पाठेघरको समस्याले बढी सताउने गरेको देखिन्छ । पाठेघरमा आएको समस्याकै कारण विश्वमै  थुप्रै महिलाले ज्यान गुमाइरहेका छन् । 

पाठेघर सृष्टिको उद्गम विन्दु हो । त्यही भ्रुण हुर्कन्छ । तर दुखलाग्दो कुरा  के छ भने, त्यही पाठेघरले महिलाहरुलाई जीवनभर पीडा दिन्छ । थुप्रै महिला अहिले पाठेघरको समस्याबाट ग्रसित छन् । उनीहरु कुनै न कुनै किसिमको रोग पालेर बसिरहेका छन् । पाठेघर आफैमा संवेदनसिल अंग हो । त्यही कारण पनि यसको सुरक्षा एवं स्वस्थ्यमा बढी सचेत हुनुपर्छ । तर, नचाहेरै पाठेघर रोगको घर बन्न पुग्छ । सबैभन्दा बढी महिलालाई पाठेघरको संक्रमणले सताउने गर्छ । यो एक प्रकारको संक्रमण हो । समयमै निको नभए यसले क्यान्सरको रुप समेत लिन सक्छ ।

यस्तै महिला प्रजनन स्वास्थ्यमा आएका समस्याको उपचारका लागि नेपालमा पनि ल्याप्रोस्कोपी (दूरबिनबाट गरिने) सर्जरीको सुरुआत भइसकेको छ । विश्वका अन्य देशमा धेरै पहिलेदेखि नै यो प्रविधि प्रयोगमा भए तापनि नेपालका लागि भने यो बिल्कुलै नयाँ विधि हो । जर्मनीबाट सुरु भएको यस प्रविधिमा लगातार  विभिन्न अध्ययन–अनुसन्धान भए पश्चात् पेट चिरेर गर्ने शल्यक्रियाभन्दा यो विधि सजिलो र भरपर्दो हो भनेर सिद्ध भएको हो । पेटबाट बच्चा निकाल्नेबाहेक अन्य सबै रोगका शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरीका माध्यमबाट गर्न सकिन्छ । पेटमा स–साना घाउ बनाइ फाइबर अप्टिक इन्डोस्कोप (दूरविन) का मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ ।

यसै विषयमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रङ्गिना शाहसँग गरिएको कुराकानी :


के हो ल्याप्रोस्कोपी सर्जरी र महिलाहरूमा योसर्जरी कसरी गरिन्छ ?

परम्परागत रुपमा पेट चिरेर गरीने शल्यक्रियालाई बिस्थापित गर्दै दुरविनको सहायताले पेट नचिरिकनै गरिने सर्जरीलाई ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ। यसमा पेट चिरेर शल्यक्रिया गर्नुपर्दैन । पेट चिरेर गरिने शल्यक्रियाको तुलनामा यो प्रविधि बढी सुरक्षित र सजिलो हुनुका साथै यो विधिबाट उपचार गरेका बिरामी छिटो तग्रीन सक्ने र भविष्यमा समेत पेट चिरेका बिरामीले जस्तो समस्या भोग्नु पर्दैन। पुराना प्रविधिबाट अप्रेसन गर्दा बिरामीलाई बेहोस पारेर जुन अङ्गमा ट्युमर वा समस्या छ, त्यसको माथि १० सेन्टिमिटर चिरेर गरिन्छ । छालाका ४ र ५ तहलाई चिर्दै उपचार गर्नुपर्ने अङ्गसम्म पुगेपछि हातले औजारहरू चलाएर अप्रेसन गरिन्छ ।

 ‘कि होल सर्जरी’ समेत भनिने ल्याप्रोस्कोपी सर्जरीमा दूरबिन र औजारका माध्यमले रोगको पहिचान तथा उपचार गर्न सकिन्छ । यसका लागि पेट फुलाउन कार्बनडाइअक्साइड वा अन्य हावाका प्रयोग गरिन्छ भने उज्यालोका लागि प्रकाश पठाइन्छ । ग्याँस, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ । समस्याग्रस्त भित्री अङ्गहरू हटाउने उपकरण र रक्तस्राव रोक्ने औषधि पठाउन पेटको तल्लो भागमा दुईतिर अन्य स–साना प्वालहरू बनाइन्छ । अप्रेसन गर्ने अङ्गमाथि एक सेन्टिमिटरको प्वाल पारेर क्यामेरा छिराइन्छ । पेटभित्रका अङ्गको अप्रेसन गर्दा पेटभित्र छिराइएका क्यामेरा घुमाएर सबै अङ्गको अवस्था हेरिन्छ । त्यसपछि अप्रेसन गर्ने अङ्गको माथि अरू आधा–आधा सेन्टिमिटरका दुई–दुईवटा प्वाल पारेर औजारहरू छिराएर अप्रेसन गरिन्छ ।


कस्तो अवस्थामा ल्याप्रोस्कोपी सर्जरी गरिन्छ ? 

पेटबाट बच्चा निकाल्नेबाहेक अन्य सबै रोगका शल्यक्रिया ल्याप्रोस्कोपी सर्जरीको माध्यमबाट गर्न सकिन्छ ।  पाठेघरमा ट्युमर पलाउँदा तथा एउटा निश्चित उमेरपछि हर्मोनको गडबडीले महिलाको पाठेघरबाट धेरै रगत बगेमा । डिम्बमा ट्युमर पलाएको, पाठेघरमा बच्चा नबसेर डिम्ब वा नलीमा बच्चा बसेको अवस्थामा । निःसन्तान, जीर्ण प्रकारका तल्लो पेट दुखाइ, तल्लो पेटमा मासु वा डल्लो पलाएको, महिनावारीमा तल्ला पेट दुख्ने समस्या, महिलाको स्थायी बन्ध्याकरण तथा पाठेघरमा हुनसक्ने विकृति पत्ता लगाउनेजस्ता स्त्री रोगसम्बन्धी स्वास्थ्य समस्या निदानमा ल्याप्रोस्कोपी प्रविधिद्वारा उपचार गर्न सकिन्छ ।


कस्ता बिरामीलाई ल्याप्रोस्कोपी सर्जरी गर्न उपयुक्त मानिदैन ?

क्यान्सरको सम्भावना भएका बिरामीको ल्याप्रोस्कोपिक अप्रेरेशन गर्नु हुँदैन, किनभने यस्तो प्रविधिले कुनैपनि कुरा सिंगै निकाल्न मिल्दैन, फुटाएर र टुक्रा पारेर साने बनाएर बाहिर निकाल्नुपर्ने हुन्छ, जस्ले गर्दा क्यान्सर बिरामीमा रोग अझै फैलिने सम्भावना हुन्छ । धेरै मोटो बिरामीलाई पनि दुरबिन पद्धतीबाट शल्यक्रिया गर्दा जटिलता आउन सक्छ । ल्याप्रोष्कोपी सर्जरी गर्दा बिरामीलाई एनेस्थेसिया मार्फत बेहोस पारेर ग्यास मार्फत बिरामीको पेट फुलाएर प्वाल पारेर औजार भित्र छिराएर शल्यक्रिया गर्नुपर्ने हुन्छ त्यस कारण माटो बिरामीमा अधिक बोसोका कारण प्वाल पारेर दुरविन पद्धतीबाट शल्यक्रिया गर्दा कठिनाई उत्पन्न हुन सक्छ । साथै बिरामीलाई अप्रेशन गर्दा दिइने पोजिसनले पनि मोटो व्यक्तिलाई गार्‍रो पार्न सक्छ । त्यस्तै फोक्सो, मुटु र छातीसम्बन्धी रोगका बिरामीका लागि पनि त्यति उपयुक्त मानिदैन । यस्ता बिरामीमा दुरविन पद्धतीको शल्यक्रियाले जोखिम बढाउने सम्भवना हुन्छ ।


महिलाहरूमा पाठेघरका ट्युमर कसरी हुन्छ र कस्ता महिलामा ट्युमर हुने सम्भावना बढी हुन्छ ?

 इस्ट्रोजोन र प्रोजेस्ट्रोन हार्मोन बढी मात्रामा उत्पादन भएमा महिलाहरूमा पाठेघरका ट्युमर हुने सम्भावना रहन्छ । ३५ देखि ४५ वर्ष उमेर समूहका महिलाहरूमा यो समस्या देखिने गरेको छ । त्यस्तै वंशाणुगत जस्तै आमा, दिदी, बहिनीहरूमा ट्युमर देखिएको छ भने अविवाहित तथा निःसन्तान महिलाहरूमा पनि पाठेघरको टयुमर हुने सम्भावना बढी देखिन्छ । मोटोपना पनि यसको कारण हुन सक्छ । त्यस्तै पाठेघरको ट्युमर हुँदा गर्भ रहन गएमा ट्युमर बढ्ने सम्भावना रहन्छ ।


ल्याप्रोस्कोपी  प्रविधि कत्तिको सुरक्षित छ ?

यो प्रविधि रोगको उपचारमा पछिल्लो पटक भित्रिएको एकदमै भरपर्दो र सुरक्षित प्रविधि हो । उच्च गुणस्तरका क्यामेराको सहायतामा टीभीको स्क्रिनमा हेरेर गरिने शल्यक्रिया भएकाले पुराना विधिबाट गरिने शल्यक्रियाभन्दा यो विधिबाट गरिने शल्यक्रिया भरपर्दो र सुरक्षित छ । यो विधिबाट उपचार गरेका बिरामी छिटो तग्रीन सक्ने हुन्छन्  र भविष्यमा समेत पेट चिरेका बिरामीले जस्तो समस्या भोग्नु पर्दैन ।


ल्याप्रोस्कोपी प्रविधिका फाइदाहरू के के छन् ?

ल्याप्रोस्कोपी सर्जरी बिरामीका लागि अधिक आरामदायी र सुविधाजनक शल्यक्रियाको पद्धती हो भन्न सकिन्छ  । चिकित्सकलाई तुलनात्मक रुपमा समय केही बढी लाग्ने भएपनि बिरामीका लागि यो पद्धतीबाट गरिने सर्जरी अधिक सुविधाजक मानिन्छ । कुनैपनि बिरामीले शल्यक्रियामा दुखाई कम, सुरक्षित र छिटो निको हुने चाहना राखेको हुन्छ, त्यसैले दुरबिनबाट गरिने शल्यक्रियाले यी सवै कुराको सम्बोधन गर्ने हुादा बिरामीका लागि दुरबिन पद्धतीबाट गरिने सर्जरी निकै फाइदाजनक देखिएको छ । यस्तो शल्यक्रियामा पेटमा १ सेन्टिमिटर र दुई–तीनवटा आधा सेन्टिमिटरका प्वाल मात्र पार्नुपर्ने हुँदा  बिरामीलाई दुखाइ कम हुने, रगत धेरै नजाने हुँदा रगत दिन पर्ने सम्भावना अत्यत्न न्यून हुने, घाउ सानो भएकाले चाँडै सन्चो हुनुका साथै घाउ पाक्ने सम्भावना पनि कम हुन्छ । साथै  शल्यक्रिया गरेको २४ घण्टाभित्र बिरामी उठेर हिंँडडुल गर्न सक्न भएकाले अस्पतालबाट चाँडै डिस्चार्ज हुन पाइने तथा छिटोभन्दा छिटो आफ्नो दैनिक कार्यमा फर्कन सकिन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक र नदुख्ने औषधि पनि कम प्रयोग गर्न सकिन्छ । शल्यक्रिया गरिसकेपछि घाउको दाग चिरेको भन्दा निकै कम देखिन्छ। 









Share:
Reaction :
ताजा समाचार
खेलकुद