Media Network

‘विप्लव–प्रकाण्ड पार्टी दर्ता गर्न निर्वाचन आयोगमा, चुनाव सार्न प्रधानमन्त्री कहाँ पुग्नुभयो’


खबरस्टोरी संवाददाता

१६ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा स्थानीय चुनावमा सहभागिताको विषयलाई लिएर विभाजन उन्मुख भएको छ । पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले निर्वाचनमा उम्मेदवार मनोनयन फिर्ता लिन अपिल गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बुधबार महासचिव विप्लवले विज्ञप्ति जारी गरी बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पदमुक्त गरिदिए । गत ३ चैतदेखि १३ गतेसम्म चलेको कपिलवस्तु बैठकले निर्वाचनमा सहभागी हुुनुपर्ने विप्लवको प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । यद्यपि विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले विभिन्न ठाउँमा स्थानीय चुनावका लागि उम्मेदवार खडा गरे । विप्लवको लाइन सचिवलायमा बहुमत रहे पनि केन्द्रीय समिति अल्पमतमा रहेको विप्लवले पदमुक्त गरेका नेता बास्तोलाले बताए । दुई नेतालाई पदमुक्त गरिएपछि नेता बास्तोलासँग खबरस्टोरीले गरेको कुराकानी ः 

---

तपाईहरुको विवाद कपिलवस्तु बैठकदेखि नै थियो, झन्डै दुई हप्ताको रस्साकस्सीपछि मिलेको विवाद अहिले कहाँ आएर बिग्रियो ?

चुनावको विषयलाई लिएर हाम्रो लामो बहस भयो । चुनावको विषयमा महासचिव विप्लवजीले चुनावमा जानुपर्छ भन्ने प्रस्ताव ल्याउनुभयो । चुनावमा जाने विषयलाई सिद्धान्तः गलत हुन्छ भनेर हामीले भन्यौं । नेपाल जस्तो देशमा चुनावको प्रश्न कार्यनीति भन्दा पनि त्यसको रणनीतिक महत्व हुने र यो रणनीतिसँग जोडिएको विषय हुने भएकाले सिद्धान्ततः गलत हुन्छ भनेर हामीले भन्यौ । त्यसैले चुनावमा भाग लिनु गलत हुन्छ भन्ने हाम्रो कुरा रह्यो । तर, विप्लवजीले चुनाव कार्यनीति भएको बताउनुभयो । ‘‘हामीले २०४८ सालमै भाग लिएका थियौं भनेपछि कसरी यो गलत हुन्छ भन्ने उहाँको कुरा थियो । छलफलले त्यो गलत हुने भन्ने निश्कर्ष निकाल्यो । र, चुनावलाई अस्वीकार गर्यो । 


पार्टी दर्ता नगर्ने, चुनावमा भाग पनि नलिने निर्णय भए पनि पार्टी कार्यकर्ताले स्वतन्त्र बनेपछि विवाद सुरु भएको हो ?

 चुनावमा जाने नजानेबारे गम्भीर छलफल भयो । अहिले चुनावमा जानु पनि गलत हुने र चुनावमा जाँदा पार्टी सकिन्छ भन्ने बहस भयो । परम्परागत प्रकारको बहिष्कार गर्नुले पनि पार्टीलाई सक्छ । त्यसो भएपछि हामीलेबीचको बाटो तय गर्यौं । पहिलोः पार्टीलाई जनतासँग जोड्दै पार्टी क्रान्तिको तयारीमा लाग्ने र बैचारिक राजनीतिको हिसावले शुद्ध राख्दै संसदीय घेरा भित्र प्रवेश गर्न पनि नपरोस् भन्ने छलफल गर्यौं । अन्तमा पार्टी चाँही संसदीय प्रणाली भित्र नजाने निर्णय गर्यौं । सोही निर्णयअनुसार, पार्टी दर्ता पनि नगर्ने र चुनावमा पनि नजाने भन्यौं । 

दोस्रोः हामीले चुनावलाई रोक्ने नसक्ने भएपछि जनतालाई रोक्न सक्ने स्थिति पनि भएन । तर, अहिले त्यो स्थिति नभएपछि जनतालाई भोट हाल्नुपर्दा देशभक्त, जनवादी प्रकारका व्यक्तिहरुलाई भोट हालनुस् भनेर अपिल गर्न सकिने निर्णय गर्यौं । त्यसो गर्दा हामीले अब समाजमा एमसीसी विरोधि, राष्ट्रघात विरोधी, राष्ट्रिय स्वाधीनताका लागि संघर्ष गर्ने, देशको हितमा बोल्ने उम्मेदवारलाई सहयोग गर्न सक्ने नीति बनायौँ । यसले हाम्रो बहस र विवादको समाधान गरेको थियो । अत्याधिक कमरेडहरु चुनावमा जानु गलत छ भन्ने कुराको पक्षमा थिए । निर्वाचन बहिष्कार गर्नु पनि गलत हुन्छ र चुनावमा भाग लिनु पनि गलत हुन्छ भनेर त्यसको बीचको बाटो हामीले बनाएका थियौँ । तर, यो निर्णय महासचिव विप्लव र प्रवक्ता प्रकाण्डबाटै उलंघन भयो । 


विप्लव, प्रकाण्डले कसरी उलंघन गर्नुभयो ? उहाँहरुले नै उम्मेदवारी दिनु भएको थियो र ?

विप्लव–प्रकाण्डहरु नै केन्द्रीय समितिको निर्णय विपरित पार्टी दर्ता गर्न भनेर निर्वाचन आयोग पुग्नुभयो । अनि, उहाँहरु प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रतिपक्षी दलका नेता केपी ओलीसँग चुनाव सार्ने प्रस्ताव लिएर नै पुग्नुभयो ।  सार्वजनिक रुपमा ती कुराहरु आए । त्यसपछि उहाँहरुले विभिन्न पार्टीहरुसँग गएर चुनावी गठबन्धन बनाउने कुराहरु गर्नुभयो । त्यो त पार्टीको नीति बिपरितका कामहरु थिए ।

पार्टी चुनावमा नजाने भनेपछि स्वाभाविक रुपमा केन्द्रीय समितिका सदस्यहरु चुनावमा नजाने भन्ने हुन्छ । जिल्ला समितिका जिम्मेवार सदस्यहरु चुनावमा नजाने नै बुझिन्छ । विशेष जिम्मेवारीमा भएका पार्टीको नेताको रुपमा चिनिएका व्यक्तिहरु पनि चुनावमा नजाने हुन्छ । तर, यहाँ भटाभट केन्द्रीय समितिका सदस्यहरु, जिल्लाका सदस्यहरु, विशेष जिम्मेवारीमा भएका नेताहरु पनि चुनावमा जाने काम भयो ।  पार्टीका समर्थकहरु चुनावमा जान सक्ने, पार्टीबाटै जाने भयो भने समर्थक भएर जाने र त्यस्ता व्यक्तिहरुलाई समर्थन गर्न सकिने हामीले भनेका थियौं । 

निर्वाचनमा पनि जनमत संग्रहको विषय बनाउने र जनमत संग्रहकको प्रचार गर्ने क्रममा भोट हाल्दा यस्ता खालका व्यक्तिहरुलाई भोट हाल्न सक्नुहुन्छ भनेर छलफल चलाउने पार्टीमा निर्णय भएको थियो । यही नै मूल कार्यनीति हो । 

तर, यहाँ त महासचिव, प्रवक्ताहरु नै चुनावको पछाडी दौडने काम भएपछि  पार्टीको केन्द्रीय समितिको निर्णय उल्टिने स्थिति पैदा भयो । पार्टीको निर्णय नै बदर भएर चुनावमा जाने निर्णय भएको जस्तो देखियो । यसैमा हाम्रो बहस केन्द्रित भयो ।


तत्कालिन सरकारसँग तपाईँहरु तीन बुदे सहमति गरेर सार्वजनिक हुँदै गर्दा एमालेसँग एकताका कुरा पनि चर्चामा थिए । त्यो पनि कतै जोडिएको छ कि ? 

वार्ता समितिमा पार्टी प्रवक्ता प्रकाण्ड र उदयबहादुर चलाउने (दीपक) हुनुहुन्थ्यो । बाहिर भेला हुँदा मैले पनि ती विषयहरु होइनन् भनेको थिए । किनभने त्यतिबेला वार्ता समितिका साथीहरुले यस्ता प्रकारका कुनै पनि सहमति भएका थिएनन् भन्नुभएको थियो । वार्ता समितिका साथीहरुको भनाइकै आधारमा मैले एमालेसँग एकताको कुरा नहुने बताएको थिएँ ।  तर, अब भित्रि कुराहरुलाई मैले परासरको पर्दा (देखेको जस्तो पनि नदेखेको जस्तो पनि)को रुपमा हेरेको छु र यो परासरको पर्दा हट्न केही समय लाग्छ । 


पछिल्लो समय पार्टी प्रवक्ता प्रकाण्डको प्रधानमन्त्री, गृहमन्त्रीदेखि विभिन्न दलका नेताहरुसँग भएका भेटघाट र छलफलहरु जेलमा भएका सदस्यहरुलाई छुटाउने विषयमा मात्र थिए कि अरु पनि थिए ? 

उहाँहरुको भेटघाट र छलफल एउटा चाँही हिरासतमा भएका साथिहरुलाई छुटाउने, मुद्दाहरु खारेज गर्ने नै थियो । साथसाथै चुनाव सार्नको निम्ति आग्रह गर्ने पनि रहेको उहाँहरुले भनेको कुरा थियो । यद्यपी उहाँहरुको आग्रहमा चुनाव सर्ने कुरा त थिएन ।  चुनाव सरे पनि संसदवादी पार्टीहरुकै कारणबाट सर्ने हुन्थ्यो । तर, प्रकाण्डजीहरुले चाँही चुनाव सार्ने, पार्टी दर्ता गर्ने, नामलिस्ट अध्यावधी गर्ने खालका कुरा भएको उहाँहरुले नै भन्नुभएको छ ।  


१२ औं केन्द्रीय समिति बैठकमा विप्लवको चुनावमा जाने प्रस्ताव बहुमत बहुमतले अस्वीकृत भयो भनिन्छ तर कारबाहीको डण्डा तपाईं र हेमन्तप्रकाश ओलीलाई मात्र किन ? 

कपिलवस्तुमा भएको केन्द्रीय समिति बैठकमा ५/७ जना चुनावमा जानु पर्छ भन्नेमा नै थिए । १५ जना जति साथीहरु चुनावमा जानु त ठीक छैन तर, महासचिवले भनेको हुनाले यसलाई मानौं भन्नेमा थिए ।  बहुमत सदस्य (करिब ४५ जना) चुनावमा जानु सैद्धान्तिक, राजनैतिक र संगठनात्मक सबै हिसाबले गलत हुन्छ भन्नेमा थिए । ती साथिहरुको बैचारिक हिसाबले सबै कुरा मिल्यो । अब निष्कासितको त कुनै एउटा औचित्य नै भएन । 


तपाईँहरु चुनावमा जान खास डराउनु भएको चाहिँ किन हो ? हिजो मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको अवस्था देखेर हो कि ?  

त्यस्तो होइन, यो त सिद्धान्तको कुरा हो । धेरैजना चुनावलाई कार्यनीति भनेर हल्का तरिकाले बुझ्छन् । तर, त्यो गलत हो ।  चुनाव रणनैतिक सिद्धान्तसँग जोडिएको कुरा हो । नेपाल जस्तो मुलुकमा चुनावमा जानु भनेको अहिले भइराखेको संविधान मान्नु हो, त्यसको नीति, बिधान मान्नु हो र त्यसमा ल्याप्चे लगाएर प्रवेश गर्नु हो । अर्थात संसदीय व्यवस्था भित्र प्रवेश गर्नु हो । जो साथीहरु र पार्टीहरु नजानिकन चुनावमा गएका छन्, उनीहरुले स्वैच्छिक हिसाबले संसदीय व्यवस्था मानेको हुन्छ ।

बैद्यजीहरुले स्वेच्छिक हिसाबले संसदीय व्यवस्था मान्नुभयो, त्यहि कारणले जनताले उहाँहरुलाई पत्याएनन् । अहिले जुन बहिष्कार गर्नु भएको छ त्यसको कुनै औचित्य नै छैन । उहाँहरुको निम्ति, सिद्धान्तको रक्षाको निम्ति, क्रान्तिको तयारीको निम्ति, पार्टीको नीति बचाउनका निम्ति त हुने भयो तर, जनताको आँखामा बैद्यजीको पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा कुनै फरक देखिएन । राप्रपा पनि  बैद्यजीको जस्तै चुनावमा गएको पार्टी हो, संविधान मानेको पार्टी हो । जनताले सिद्धान्तको कुरा बुझ्दैनन्, मात्र १३ हजार भोट आएको पार्टी भनेर बुझ्छन् । 

त्यो गम्भीर प्रकारको गल्ती बैद्यले कहाँ गर्नु भयो । चुनावलाई कार्यनीति भनेर हल्का तरिकाले लिनु नै गल्ती थियो । हामीले चाहिँ त्यो गल्ती गर्न सक्दैनथ्यौं । विप्लवजीले पनि त्यहि गल्ती गर्न खोज्नु भएको थियो । तर मैले त्यसो गर्न सकिन । त्यसैले यो डराउने यताउती होइन, सैद्धान्तिक गल्तीको कुरा हुन्छ ।


पार्टीको केन्द्रीय समितिको निर्णय विपरित नै निर्वाचनमा भाग लिएको भनेर तपाईँले विज्ञप्ति निकाल्नुभयो, विप्लवजीले नमानेर हो ? 

पार्टीको महासचिव र प्रवक्ताले नै पार्टी दर्ता पनि गर्नुपर्छ, निर्वाचन सार्नुपर्छ भन्ने हर्कत देखाउनुभयो । पार्टीको केन्द्रीय समितिको वैज्ञानिक निर्णयविरुद्ध उहाँहरुले संसदवादी चरित्र प्रयोग गर्न खोज्नुभयो । त्यसकारणले हामीले विरोध गर्यौं । 

मैले महासचिवलाई सोध्दै नसोधी विज्ञप्ति निकालेको हो । विप्लवजी आफै संसदीय बाटोमा तीब्र गतिमा कुदिरहनु भएको थियो । उहाँको प्रवक्ता पनि त्यही बाटोमा तीब्र गतिमा कुदिरहनु भएको थियो । उहाँहरु दुई जना केन्द्रीय समितिको निर्णयविपरित गइरहनु भएको थियो । त्यसो हुनाले उहाँलाई सोध्ने वित्तिकै विज्ञप्ति निकाल्ने रोक्ने कुरा आउथ्यो । आजसम्म उहाँ महासचिव भएकाले विज्ञप्ति ननिकाल्नुस् भन्नु हुन्थ्यो । उहाँले आफ्नो विरुद्धमा आउने विज्ञप्ति निकाल्न रोक्नु हुन्थ्यो । त्यसकारण मैले सचेतपूर्ण तरिकाले उहाँलाई नसोधिकन विज्ञप्ति निकालेँ । त्यो निकालिसकेपछि मात्रै पछि छलफल गर्नुपर्छ भन्ने कुरा थियो ।

पार्टी केन्द्रीय समितिको नीतिको विरुद्धमा केन्द्रीय समितिका सदस्यहरु उठाउने, एमालेको सूर्य चिन्ह लिएर उठ्ने, गठबन्धनहरु सबैसँग बनाउने भन्ने कुरा त पार्टीको नीति विपरित भयो । यसमा महासचिव र प्रवक्ता दुवैको संलग्नता हुँदा सिङ्गो पार्टी नै चुनाव परस्त देखिने अवस्था आएपछि मैले जनतालाई जानकारी दिनकै लागि विज्ञप्ति निकालेको हो । क्रान्तिकारी लाइनको पोजिशन स्पष्ट गर्न मैले विज्ञप्ति निकालेको हो । 


विप्लवले निकालेको विज्ञप्तिमा तपाईँहरुले चुनावको विषय देखाएर पार्टी संसदवादमा फसेको भनी गलत र नियोजित प्रचार गरेको आरोप लगाइएको छ, कति सत्यता छ ?  

विप्लवजीले हामीमाथि लगाएको आरोपमा कुनै सत्यता छैन । केही केही कुराहरु एकदमै तोडमरोड गरिएका छन् । जुन कुरा अत्यन्तै गलत छ । उहाँहरु (विप्लवहरु) संसदवादमा प्रवेश गर्नु भएको छ, हामीले त्यसको विरोध गरेका छौं । केन्द्रीय समिति बैठकले पार्टीलाई संसदवादमा जानबाट रोकेको थियो । अब अहिलेको विज्ञप्तिमार्फत आफूहरुलाई पदमुक्त गरेर संसदवादको बाटो खुला गर्नुभयो । उहाँहरु तीब्र गतिमा संसदवादमा प्रवेश गर्नुभयो भन्ने यो गतिविधिले देखाउँछ ।  

मैले विज्ञप्तिमा कसैलाई आक्षेप लगाएको थिइन । पार्टीको नीति भन्दा बाहिर देखिने जो उम्मेदवारहरु छन्, त्यो उम्मेदवारी फिर्ता गर्नुहोला, त्यो पनि अनुशासन र विधि मान्नेले गर्नुहोला भनेको छु । मैले नापतौल गरेर नै विज्ञप्ति निकालेको छु ।  जो चुनाव परस्त हुनुहुन्छ, उहाँले फिर्ता लिनुपर्छ भन्ने जरुरी पनि थिएन । 


कपिलवस्तु वैठकपछि तपाईँहरुलाई अब पार्टीबाट निकालिन्छौं भन्ने लाग्याथ्यो ? 

कपिलवस्तुको १२ औं केन्द्रीय समिति बैठकमा ठूलो बहस भयो । बहसले विप्लवको चुनाव परस्त प्रस्तावलाई खारेज गर्दियो । त्यसको ठाउँमा वैज्ञानिक प्रस्ताव विकास भएर आयो । यद्यपि जनतासँग जोड्ने मेरो प्रस्ताव चाँही छुट्टै थियो । तर त्योबारेमा वैठकमा बहस नै भएन । त्यो प्रस्ताव नगरिकन छुट्टै समाधान निकालियो । त्यो निर्णय अहिलेका लागि बैज्ञानिक निस्कियो । त्यसैले हामी पार्टीबाटै निस्कनुपर्छ भन्ने जरुरी नै भएन । 

बहुमत हामीसँग छँदै छ । अहिले बहुमतको निर्णय लागू छ । बहुमतको विचार प्रिवेलिङ छ । बहुमत, अल्पमत भनेर भोट हालेको चाँही होइन तर विचारको केन्द्रिकरण विचारको श्रेष्ठता हिजो थियो, आज पनि छ । 


बहुमत तपाईँहरुसँग भएपछि अब फेरि महासचिव र प्रवक्तालाई तपाईँहरुले कारबाही गर्नु हुन्छ होला, होइन ?  

त्योबारेमा त हामीले छलफल गर्छौं । छलफलपछि मात्रै के गर्ने निर्णय गर्छौं । अहिले नै निर्णय नगरीकन यो गर्ने भन्ने कुरा भएन । हामी केन्द्रीय सदस्य तथा सचिवालय सदस्यसँग छलफल गर्छौं । यस्तो प्रकारको अराजकता, यस्तोप्रकारको निरंकुशता, यस्तो प्रकारको वितण्डता गर्नेविरुद्ध के गर्ने त भनेर हामी गम्भीर बहस गर्छौं र निचोड निकाल्छौं । संगठनलाई मोनोपोलाइज्ड गर्नेहरुलाई के गर्ने भन्ने निर्क्र्योल निकाल्छौं । अबको बाटो के हो भन्नेमा छलफल गरेर निर्क्र्योल निकाल्छौं । 


तपाईँहरु नयाँ पार्टी गठनको तयारीमा पनि हुनुहुन्छ कि ? 

त्यो अप्सनहरु त सबै खुला छन् । तर हामीलाई नयाँ पार्टी बनाउनु पर्दैन । बहुमत हामीसँग छँदैछ, पार्टी हामीसँगै छ । नयाँ पार्टी बनाउने हो भने त विप्लव, प्रकाण्डहरुले बनाउनु पर््यो । हामी त अहिले बोल्सेविक । हामीले किन नयाँ पार्टी बनाउनु पर्यो ? पार्टी छोड्ने हो भने त विप्लव र प्रकाण्डहरुले छोड्नुपर्ला । 


त्यो अवस्था आउँछ ? 

हो, विप्लव र प्रकाण्डले नै पार्टी छोड्ने अवस्था आउन सक्छ । हामी त बहुमतमा छौं, हामीले किन पार्टी छोड्ने ? अहिले नीति हाम्रो कार्यान्वयन भइरहेको छ । विप्लवले कार्यान्वयन भएको नीतिलाई तिरस्कार गर्नुभयो । चार दिनमै तिरस्कार गर्नुभयो । चैत १४ गते वैठक सक्यौं, १८ गते जिल्लाका सेक्रेटरीहरुको प्रशिक्षण थियो । त्यो प्रशिक्षणमा उहाँले मेरो लाइन चुनाव जाने हो, केन्द्रीय समितिले मेरो लाइन बुझेन, मलाई नै अल्पमतमा पार्यो भनेर बिलौना पोख्नुभयो । उहाँले केन्द्रीय समितिको लाइनलाई मेरो लाइन होइन भनेर स्पष्ट गर्नुभयो । त्यसैले त्यो हाम्रो लाइन भन्ने स्पष्ट नै छ ।

केन्द्रीय समितिको लाइन नै हाम्रो सचिवलायको लाइन हो । त्यो विप्लवको पनि लाइन होस् भन्ने मैले चाहन्थें । एक मतले पारित भएको हुनाले सचिवालय र केन्द्रीय समिति भन्ने कुरा नै भएन, अहिले सिङ्गो पार्टी हामीसँग छ । 


भनेपछि, पार्टी स्पष्ट रुपमा विभाजन भयो अब ? 

पार्टी विभाजन भाछैन । पार्टी त हामीसँग नै छ नि । उहाँहरुले छुट्टै पार्टी बनाउनु भएछ भने चाँही विभाजन होला । अहिले पार्टी विभाजन होइन, विभाजन उन्मुख भन्न सकिएला । तर, त्यो भोलिको कुुरा हो, भविष्यको गर्भमा भएको कुरा हो । विप्लव, प्रकाण्डजीहरु भोलि सुध्रिएर पनि आउन सक्नुहुन्छ नि । खासगरी विप्लव चाँही सुध्रिएर पार्टीमा आउन सक्नुहुन्छ । त्यो सम्भावनालाई अहिले नै इन्कार गर्न चाँही सकिदैन । 


पार्टीको विवादकैबीच तपाईँहरु प्रचण्डसँग पनि छलफलमा हुनुहुन्थ्यो खासगरी हेमन्तप्रकाश ओली र तपाईँ । केका लागि भेट्नु भएको ?  

प्रचण्डसँग हामीले भेटेको छलफल गरेको कुरा सत्य हो । हाम्रा साथीहरु जेलमा हुनुहुन्थ्यो, उहाँहरुलाई छुटाउने विषयमा हामीले प्रचण्डसँग छलफल गरेका हौं । विप्लवजीले नै प्रचण्डजीसँग भेट्नुपर्यो र चुनाव सार्नका लागि कुरा गर्नुपर्यो भन्नु भएको थियो । तर हामीले त्यो विषयमा कुराकानी गरेनौं । तपाईँहरुले के सोंचिरहनु भएको भनेर हामीले चुनावका बारेमा र अहिलेको राजनीतिक विषयमा कुराकानी त भयो । तर चुनाव सार्नुपर्छ, सारिदिनुस् भनेर हामीले कुरा गरेनौं । हामीले माधव नेपालसँग पनि भेट गर्यौं । विप्लवजीले माधव नेपालसँग पनि चुनाव सार्नका लागि भन्दिनुस् भनेर हामीलाई भन्नु भएको थियो । हाम्रो चुनाव सार्नेसँगको कुनै सरोकार नभएकाले त्यसबारेमा कुरा नै गरेनौं । विप्लव र प्रकाण्डजीको प्रधानमन्त्रीसँग छलफल भएको थियो । त्यसमा जेलमा रहेका साथीहरुलाई छोड्न मद्दत गरिदिनु पर्यो भनेर हामीले छलफल गरेका थियौं ।  


अन्तमा अहिलेको राष्ट्रिय राजनीतिकाबारेमा तपाईँहरुको समूहको बुझाइ के छ ? 

राष्ट्रिय राजनीतिमा अहिले दलाल पूँजीवादी सत्ता मजबुद हुँदै गइरहेको छ । दलाल पूँजीवादी सत्ता बलियो हुँदै जानुको एउटा कारण एमसीसी पारित हुनु हो । एमसीसी पारित गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा आफै हुनुहुन्नथ्यो । उहाँले अब एमसीसी थेग्न सकिदैन भन्नु भएको थियो । अहिलेसम्म त थेगियो तर यति दबाब आयो कि अब थेग्न सकिदैन भन्ने उहाँको अभिब्यक्तिबाट प्रष्ट हुन्छ । 

प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली पनि एमसीसीको पक्षमा हुनुहुन्नथ्यो । आफू प्रधानमन्त्री हुँदा ओलीले टेबुलसम्म गर्नु भएको थियो । सरकारमा दुई तिहाइ हुँदा पनि उहाँले पास गराउनु भएको थिएन । किनभने उहाँ पास गर्नेमा हुनुहुन्नथ्यो । प्रचण्ड पनि एमसीसी पास गर्नेमा हुनुहुन्नथ्यो । सभामुख पनि त्यसको पक्षमा हुनुहुन्नथ्यो । बाबुराम भट्टराईबाहेक माधव नेपाल, झलनाथ खनाल कुनै पनि नेता त्यसको पक्षमा हुनुहुन्नथ्यो । सिंगो जनता बाहिर रहेको अवस्था थियो । तर दलाल पूँजीवादी सत्ता यति मजबुत भयो कि सरकारभित्र प्रधानमन्त्रीको पनि काम लागेन ।

गठबन्धनका नेताहरुको पनि काम लागेन । प्रतिपक्षको पनि काम लागेन, सिंगो जनताको तागतलाई पनि त्यसले रोक्न सकेन । दलाल सत्ताले मिचेर गयो र, एमसीसी पास भयो । दलाल पूँजीवादी सत्ता मजबुतीले फाँसिवादीतिर लगिरहेको छ । त्यसले गर्दा नयाँ जनवादी क्रान्ति अत्यन्तै सन्निकट बन्दै आएको र आवश्यक बनेको छ भन्ने हाम्रो बुझाइ हो । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद