Media Network

पन्ध्र वर्षदेखि बंगुरसँग रमाएकी नमिताको कथा


खबरस्टोरी संवाददाता

६ मंसिर २०७८,सोमबार

चितवन । खासगरी ब्राम्हण समुदायमा बंगुर खाने त परै जाओस्, छुन पनि हुँदैन भन्ने विश्वास गर्छन् । त्यही ब्राम्हण समुदायकी नमिता अधिकारी भने बंगुरसँग रमाउन थालेको १५ वर्ष भयो ।

नमिता विहानदेखि बेलुकासम्म नै बंगुर र त्यसका पाठापाठीसँग रमाउँछिन् । विहान बंगुरलाई दाना दिन्छिन्, गोठ सरसफाइ गर्छिन अनि त्यहि बंगुर पाठापाठीसँगै रमाउँछिन् ।

चितवनको भरतपुर महानगरपालिका १६ हाम्रो चोकमा अधिकारीको ‘सिमरन बंगुर फर्म’ छ । लामो समययदेखि बंगरपालन ब्यवसायमा लागेकी नमिताले आफ्नो फर्ममा अरु दुई जनालाई रोजगार पनि दिएकी छन् । बंगुरपालनसँगै नमिता दम्पत्तिले माछापालन पनि गर्दै आएका छन् ।

जिल्लामै एउटा बंगुर पाल्ने सफल महिला उद्यमीका रुपमा परिचित नमितालाई अहिले सिमरन दिदी भनेर सबैले चिन्ने गरेका छन् ।

नमिता दम्पत्तिले यसअघि कुखुरापालन ब्यवसाय शुरु गरेका थिए दवाडी सप्लायर्सका नामबाट । कुखुरापालन ब्यवसायबाट उनीहरुलाई सफलता मिलेन । प्रारम्भिक लगानी सबै डुब्यो । कृषि विकास बैंकबाट २५ लाख ऋण लिएर उनीहरुले कुखुरापालन ब्यवसाय थालेका थिए ।

कुखुरापालन ब्यवसायबाट सफलता नमिले पनि कृषि क्षेत्रकै अरु ब्यवसाय सञ्चालन गर्न बैंकले हौसला प्रदान गर्यो । तर बैंकमा अरु ऋण थप्न आँट गरेनन् उनीहरुले ।

ऋण गरेर सञ्चालन गरेको ब्यवसाय टाट पल्टिएपछि नमिताका श्रीमान रोजगारीका लागि विदेशिए । तर विदेश गएर पनि उनका श्रीमानले सफलता पाउन सकेनन् । विदेशमा पनि पैसा कमाउन नसकेपछि श्रीमान निराश भएर स्वदेश फर्किए ।

अतिवादी ब्राम्हण समुदायमा बंगुरपालन गर्नेलाई राम्रो दृष्टिले हेरिँदैन । तर नमिताले भने परिवारको राम्रै साथ र सहयोग पाएकी छन् ।

श्रीमान विदेशबाट फर्किएर पुनः कृषि कर्ममै लाग्ने अठोट गरेपछि यो ब्यवसायमा जमेका हुन् उनीहरु । नमितालाई परिवारबाट राम्रो सद्भाव मिल्यो ।

नमिताले कुखुरापालन ब्यवसायबाट असफल भए पनि कृषिकर्मबाट हरेश खाइनन् । कुखुरापालन ब्यवसायबाट भएको घाटा बंगुरपालन ब्यवसायले पूरा गर्यो ।

बंगुर पाल्ने उद्यमी महिला भनेर सबैतिर चिनिन पाउने भएकोमा उनी आमाको आर्शिवाद ठान्छिन् । आफ्नो बाख्रा बेचेको पेवा पैसा दिएर बंगुरपालन ब्यवसाय सञ्चालन गर्न सासुआमाले उनलाई ठूलो गुन लगाएकी थिइन् ।

‘अरुका आमाबाबुले बंगुरपालन गरेर जात फालेको भन्छन्, तर मेरी आमाले आफ्नो पेवा पैसा दिएर काम गर्न प्रोत्साहन दिनुभयो ।’– उनले भनिन् ।

नमिताले चार वटा बंगुर किनेर आफ्नो नयाँ ब्यवसाय थालनी गरिन् । अहिले उनको फर्ममा ५ वटा भाले बंगुरसहित ७५ वटा माउ बंगुर छन् । तीसबै ड्यूरो र ल्याण्डेस प्रजातिका बंगुर हुन् ।

ब्यवसायिक रुपमा बंगुरपालन गरेकी नमिताले योसँगसँगै माछापालन ब्यवसाय पनि थालिन् । बंगुरपालन र माछापालन अन्तरसम्बधित हुने उनको बुझाइ छ । बंगुरफर्मबाट निस्किएका फोहर माछाका लागि उपयोगी हुने उनी बताउँछिन् ।

डेढ बिगाहा क्षेत्रफलमा बंगुर फर्म र ६ वटा माछा पोखरीहरु छन् । 

नमिताले आफ्ना फर्मका बंगुरको बच्चा उत्पादनमा नै बढी जोड दिदै आएकी छन् । एउटा माउले एक बेतमा १४÷१५ वटा भन्दा बढी बच्चा जन्माउँछ ।

६ हजार एक सय रुपैयामा यो फर्मबाटै बंगुरको पाठापाठी बिक्री हुन्छ । भाले बनाएकोलाई उनले ६४ सय रुपैयामा बिक्री गर्छिन् । ‘भाले बनाउँदा प्राविधिकलाई शुल्क लिने भएकाले त्यो शुल्कसमेत जोडेर लिने गरेको छु ।’– उनले भनिन् ।

उन्नत जातको बंगुर भएकाले यहाँबाट लगेको बंगुर ७ महिनामा ८० देखि ९० किलोको हुने गरेको नमिताले बताइन् ।

फर्मका सबै बंगुरहरुको बीमा गरिएका छन् । ‘बिमा गर्दा २५ प्रतिशत मात्रै बिमा शुल्क बुझाउनुपर्छ,’ उनले भनिन्– ‘२५ प्रतिशतको साढे १२ प्रतिशत महानगरपालिकाबाट फिर्ता आउने भएकाले विमा गर्न पनि शुल्क लाग्दैन भन्दा पनि हुन्छ ।’

लामो समय बंगुरपालन गरेकाले बंगुरको सामान्य उपचार आफै गर्छिन् नमिता । जटिल प्रकारको विरामी भएमा मात्रै उनी पशु प्राविधिक गुहार्छिन् । ‘बंगुरको दाँत काट्ने, आइरन भ्याक्सिन लगाउने काम म आफै गर्छु,’ उनले भनिन्,– ‘लामो अनुभवले गर्दा आफै डाक्टर भएकी छु ।’

कृषि विकास बैंकबाट सहुलियत दरको ऋण लिएर उनले आफ्नो कृषि ब्यवसाय बढाउँदै लगेकी छन् । नमिताको ब्यवसाय अहिले एक करोड भन्दा बढी पुगेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद