Media Network

रामकाजीको संघर्ष, समयले सिकाएको कर्म (भिडियोसहित)


khabarstory

१५ चैत्र २०७७,आईतवार

दोलखा वैतेश्वर मैनापोखरीका रामकाजी १० वर्षपहिले ललितपुरको सातदोबाटोमा वेल्डिङको काम गर्थे । असारको महिना थियो । छुट्टीमा घर गएको बेला बा-आमालाई सघाउन भनेर रुख चढे । रुखबाट घाँस झार्दै गर्दा बिजुलीको नाङ्गो तार छुन पुगे ।

त्यही तारको झट्काले रुखबाट खसेर भुँइमा बजारिए । रामकाजीको कम्बरका तीनवटा हड्डी भाँचिए । उपचार गर्न काठमाडौं ल्याइयो । उनलाई स्पाइनल इन्जुरी भइसकेको रहेछ । कम्मर मुनिको भाग चल्न छाड्यो ।

त्यसपछि रामकाजीलाई ह्विलचेयरको सहारा आवश्यक भयो । उपचारका क्रममा काठमाडौंमा तीन महिना बसेपछि हिँड्न नसकिने रहेछ भन्ने थाहा पाएको उनी बताउँछन् । 'अब केही न केही गर्नुपर्छ भनेर म तातोपानी गएँ, सिर्जनशील कला केन्द्रमा थाङ्का सिक्न,' उनले भने, 'त्यसबाट ह्विलचेयर बनाउन सुरु भएको हो ।'

नेपालमा ह्विलचेयर बन्दैन । विदेशबाट ल्याइएका र अनुदानमार्फत प्राप्त गरेका ह्विलचेयर प्रयोग गर्नुपर्ने बाध्यता छ । बिग्रिएपछि बनाउने ठाउँ छैन । उनले पनि त्यही बाध्यता झेल्नुपर्‍यो ।

आफ्नो ह्विलचेयर बिग्रिएपछि मर्मतका लागि उनी गाडी बनाउने तथा मोटरसाइकल बनाउने वर्कसपमा गए । तर, कतै बनेन । त्यसपछि रामकाजीले आफैँ प्रयास गरे । बिग्रिएको ह्विलचेयर बनाए ।

आफू चढ्ने ह्विलचेयर बिग्रिएपछि ह्विलचेयर बनाउन थालेको उनी बताउँछन् । 'जिन्दगी ह्विलचेयरमा बित्दै छ । ब्यारिङ गयो,' उनले भने, 'कहीँ बनेन, गाडी बनाउने वर्कसपतिर पनि बनेन, बाइक पसलमा पनि बनेन । धेरै गाह्रो भयो । अनि म आफैँले बनाएँ ।'

आफ्नो बिग्रिएको ह्विलचेयर बनाएको तथा वेल्डिङमा काम गरेको अनुभवले उनलाई ह्विलचेयर मर्मत गर्ने वर्कसप खोल्न सकिन्छ भन्ने लाग्यो । आफ्नै ह्विलचेयर मर्मतबाट उनले सुरु गरेको बीआईए फाउन्डेसनमा सँगै बस्ने अपाङ्गता भएका साथीहरूका ह्विलचेयर पनि मर्मत गरे । त्यसबापत उनलाई संस्थाले मासिक तलबको व्यवस्था गरिदियो ।

काम गर्दै जाँदा उनलाई एक संस्थाले मेसिनहरू खरिदमा सहयोग गर्‍यो । त्यसपछि उनलाई काम गर्न थप सहज भयो । हाल देशका विभिन्न स्थानबाट मर्मतका लागि ह्विलचेयर आउने गरेको उनले बताए ।

RITZ

Shikhar Insurance

नेपालमा ह्विलचेयर मर्मत गर्ने ठाउँ थोरै छन् । रामकाजीले गरेको यो कामले ह्विलचेयर बनाउनुपर्नेहरूलाई राहत पुगेको छ ।

हेर्नुस् भिडियो :

 

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७, १४:१७:००

Share:
Reaction :
ताजा समाचार
खेलकुद