आशाको दीप निभ्न दिने छैन,एक/अर्काको खुट्टा तान्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ : उपमेयर डंगोल


खबरस्टोरी संवाददाता
१३ जेष्ठ २०७९, शुक्रबार
आशाको दीप निभ्न दिने छैन,एक/अर्काको खुट्टा तान्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ : उपमेयर डंगोल
काठमाडौं। काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंवासीको जिम्मेवार जनप्रतिनिधिको रूपमा आफूले रचनात्मकरुपमा काम निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकि छन् । 

उपमेयर डंगोलले  शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा आफूले निर्वाचनको परिणामलाई उत्साहभन्दा पनि जिम्मेवारीबोधको रूपमा लिएको बताईन  ।  

उपमेयर डंगोलले आफूहरूको जितले युवाहरूमा आशाको दीप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढतासमेत व्यक्त गरिन् । ‘ यो जिम्मेवारीलाई कर्तव्यनिष्ठ भइ इमान्दारितापूर्वक काठमाडौंवासीको असल जिम्मेवार जनप्रतिनिधिको रूपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरूमाझ जाहेर गर्न चाहन्छु । ,' डंगोलले भनिन्, 'तपाईँहरुको विश्वासलाई शिरमा राख्दै शासक होइन सेवक भएर काम गर्ने प्रण पनि व्यक्त गर्न चाहन्छु ।'

यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सुरु भएको छ, औपचारिक रूपमा । यो अभियानमा जसरी यहाँहरूले युवाहरूलाई विश्वास गर्नु भएको छ,’ डंगोलले भनिन् । 

उपमेयर डंगोलले एक/अर्काको खुट्टा तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताइन् । 

‘यो आशाको दीपलाई निभ्न दिनेछैन । एक/अर्काको खुट्टा तान्ने प्रवृत्तिबाट माथि उठ्नुपर्छ । म भन्ने शब्दभन्दा माथि उठ्नुपर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खबरदारी गर्नुहोला,’ उनले भनिन् ।