काठमाडौं । आज (नोभेम्बर १९ तारिख) मा ५८० वर्षयताकै सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । । यो ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ। चन्द्र ग्रहण नेपाली समयअनुसार दिउँसो १ बजेर ३ मिनेटदेखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहने बताइएको छ । पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो हुन गएको खगोलविद्हरुको दाबी छ।
यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिने बताइएको छ । दिउँसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्ने बताइएको छ। यो ग्रहण पृथ्वीका विभिन्न भागबाट देखिनेछ । बैज्ञानिकहरुका अनुसार आजको चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरको क्षेत्रबाट प्रत्यक्ष देखिने छ ।
खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । उक्त अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ ।
यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको भनिदै आएको छ । र, आजपछि सन २६६९ फेब्रुअरी ८ मा यस्तै लामो चन्द्रग्रहण लाग्ने बताइएको छ ।
चन्द्रग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति
कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उनले बताए । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।