काठमाडौँ। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज (बुधवार) साँझ नेपाल भ्रमणमा आउँदैछन् । उनी माल्दिभ्सको भ्रमण सकेर मालेबाट काठमाडौँ आउन लागेका हुन्। नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
अमेरिकी सहायता परियोजना एमसीसीका सम्बन्धमा नेपालमा विवाद भइरहेका बेला अमेरिकी सहायक विदेशमन्त्रीको भ्रमण हुन लागेको हो । यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स पनि नेपाल आएका थिए । संसदबाट एमसीसी पास गर्ने या नगर्ने भन्ने विषयमा नेपालमा विवाद चलिरहेको छ । यसैबीच लूले नेपाल बसाइको क्रममा एमसिसी तथा नेपाल–अमेरिका सम्बन्धका विभिन्न पक्षमा कुराकानी गर्ने बताइएको छ।
भ्रमणको क्रममा द्विपक्षीय सहयोग तथा साझेदारीबारे छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ। तर मुख्य गरी एमसिसीकै कुरा केन्द्रमा रहने सम्भावना छ।