चितवन । निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ । टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको थियो ।निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर दुर्लभ एकसिंगे गैंडा मरेपछि वन तथा वातावरण मन्त्रालयले घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
मंगलबारको मन्त्रिस्तरिय निर्णयबाट १० दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्ने गरी पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । वन तथा भू(संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी जनाएको हो ।कार्यदलको सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव ९कानुन० रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख सरंक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजन वन अधिकृत पदमराज नेपाल रहेका छन् ।
कार्यदलले स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्नेछ । त्यस्तै, सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्था, सडक निर्माणका क्रममा को कसको कस्तो जिम्मेवारी, गैंडाको मृत्यु हुनेगरी भएको लापरबाहीको को जिम्मेवारी र कारबाही गर्नुपर्ने भए सोको राय सहितको सुझाव पेस गर्न कार्यदललाई भनिएको छ ।हात्तीको गोबरसहित विवेकशील साझाको विरोधसरकारी लापरबाहीका कारण दुर्लभ एकसिंगे गैंडाको मृत्यु भएको भन्दै विवेकशील साझाले मंगलबार भरतपुर महानगरपालिकाको मूख्य गेटमा हात्तीको गोबरसहित विरोध प्रदर्शन गरेको छ ।
विवेकशीलका नेता कार्यकर्ताले महानगरको गेटमा हात्तीको गोबर र ब्यानरसहित गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । वन्यजन्तुको संरक्षणको माग गर्दै शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।‘शान्तिपूर्ण प्रदर्शनमा आएर प्रहरीले हात हाल्ने र धकेल्ने काम गर्यो । हामीले त्यसको प्रतिवाद गर्यौँ र क्षेत्राधिकार बाहिर नजान आग्रह पनि गर्यौँ’, उनले भने ।प्रहरीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर आफूहरूको शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको उनको भनाइ छ । शान्तिपूर्ण आन्दोलनमा आएर हात हाल्ने र धकेल्ने काम प्रहरीले गर्न नपाउने उनी बताउँछन् । विवेकशीलले ‘फ्रिडम फर अल, जस्टिस फर एनिमल्स’ र ‘विकास कार्यमा वन्यजन्तुको संरक्षण’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेको हो ।
प्रहरीको हस्तक्षेपका बीच विवेकशीलले महानगरकी उपमेयर पार्वती शाह ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ । लापरबाहीका कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुनु दुखद् भएको बताउँदै ठकुरीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।चितवन राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणकर्ताको लापरबाहीकै कारण गैंडा मरेको बताएको छ । गैंडा मरेको स्थान निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएको र त्यहाँ भौतिक संरचना निर्माण गर्दा निकुञ्जको स्वीकृति र अनुमति केही नलिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताएका छन् ।
गैंडा मर्नुमा सडक डिभिजन र ठेकेदार दुवैको लापरबाही रहेको निकुञ्जले औँल्याएको छ ।