खोटाङ। खोटाङको त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको छ । कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसी मन्दसरको गेटमा ताला लगाइएको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि हलेसीको गेटमा ताला लगाइएको हलेसी महादेवस्थान विकास समितिका सदस्य सचिव सर्वधन बस्नेतले बताए ।
दैनिक बिहान र बेलुका हुँदै आएको नित्य-नैनित्य पूजालाई भने निरन्तरता दिने गरी हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको हो । हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोभिडको संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । यसबीचमा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले गेट बाहिरबाटै दर्शन र पूजाआजा गर्नुपर्ने छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पुर्याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो तेस्राेपल्ट हो । कोभिडको महामारीका क्रममा बन्द गर्नु अगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।