काठमाडौं। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार सर्वोच्च परिसरमा धर्ना दिन गएका कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् । न्यायिक शुद्धीकारणका लागि गरेको शान्तिपूर्ण आन्दोलन दबाउन सरकारले प्रहरी खटाएको भन्दै कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँडको राजीनामा मागेका हुन् । उनीहरुले चर्को नाराबाजी गर्दै भ्रष्टाचारी न्यायाधीश र गृहमन्त्री खाँडले यथाशीघ्र राजीनामा दिनुपर्ने माग गरे।
नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्री खाँडले प्रहरी खटाएर आन्दोलन विथोल्न खोजेको आरोप लगाईन्। उनले न्यायालय बिचौलियाको कब्जामा रहेको बताए। उनले भने,' न्यायालय बिचौलियाको कब्जामा छ। बल प्रयोग मान्य छैन । यदि प्रहरी गेट बाहिर गएनन् भने यो आन्दोलन सिंहदरबार केन्द्रित हुन्छ।
धर्नामा बसेका कानुन व्यवसायी र प्रहरीबीच प्रत्येक दिनजसो घम्साघम्सी हुँदै आएको छ। केही दिनअघि धर्नमा बसेका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी हुँदा ७ जना कानुन व्यवसायीहरु घाइते भएका थिए।
बारले सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन समेत माग गरेको छ। यसअघि बारले पटक-पटक सर्वोच्च परिसरबाट प्रहरी हटाउन गृहमन्त्राललाई खबर गरेको थियो।