कोरोनाको तेस्रो लहरको खतराले होटल व्यवसायी चिन्तित


खबरस्टोरी संवाददाता
१५ पुष २०७८, बिहीबार
कोरोनाको तेस्रो लहरको खतराले होटल व्यवसायी चिन्तित

काठमाडौँ। गत साउन महिनादेखि कोरोना संक्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तंग्रनेमा निकै खुशी लागेको थियो । यसलगत्तै आफ्नो होटलमा चहलपहल बढ्न थालेसँगै कार्यक्रमका बुकिङले उनलाई उत्साह पनि थप्दै लगेको थियो ।

वर्ष नबत्दै उनलाई आजभोलि उही पहिलेकै चिन्ताले ‘डेरा’ जमाइसक्यो । ‘व्यवसायले रूप फेर्लाझै लागेको थियो, कोरोना तेस्रो लहरको चिन्ताले सताउन थालिसक्यो,’ उनले भने ।

कोरोनाका २ वटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा व्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको कोरोना ओमिक्रोन महामारी प्रक्षेपणले उनीलगायत धुलिखेलका होटल व्यवसायीलाई हाल थप चिन्ताको भारी बोकाएको छ । 

यही साल कोरोनाको दोस्रो लहरले होटल व्यवसाय थप धरासायी बनाएपछि पुनः तंग्रन थालेको समयमा तेस्रो लहरको प्रक्षेपणले व्यवसायलाई निकै मार पर्ने क्षेत्रीय होटल संघ (हान) को सचिव ज्योत्स्ना सैंजु बताउँछन् । उनले भने, ‘नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले होला धुलिखेलमा विदेशी पाहुना आउन छाडिसके, हाल आन्तिरिक पर्यटक मात्रै धुलिखेल आउनुहुन्छ तर यसलाई सन्तोषजनक मान्नुपर्छ ।’

केही महिनाअघि नेपाल आउँदा क्वारेन्टीन बस्नुपर्ने नियम हटेपछि उनको धुलिखेलस्थित होटल माउन्ट प्रिन्समा विदेशी पर्यटक समेतको निकै चहलपहल बढेको थियो । 

उनका अनुसार कोरोना महामारीका कारण होटल–व्यवसाय धरासायी हुँदा धुलिखेलका ४ होटल बन्द भएका छन् । ‘होटल निर्माणको ब्याज तथा घर भाडा समेत सतर्न नसक्दा धुलिखेलका होटल बन्द हुनुपर्‍यो, नयाँ व्यवसायी यो पेशामा आउन डराइरहनुभएको छ,’ उनले भने । २० कोठा क्षमता रहेको उनको होटलले स्वास्थ्य मापदण्ड अपनाई पाहुनालाई सेवा प्रदान गर्दै आएको छ । 

पर्यटकीयस्थल धुलिखेलमा ठूलासाना गरी करीब ६० होटलमा १ हजार बेड क्षमता छन् । काभ्रेपलाञ्चोकस्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करीब ५० अर्ब रुपैयाँको लगानी रहेको संघले जनायो । यहाँ करीब ३ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

गत चैतमा दोस्रो लहर शुरू भएसँगै वैशाख अन्तिम हप्तासम्म धुलिखेलका होटलमा बुकिङ रद्द भएका थिए । जेठ, असार र साउनमा होटल ठप्पै रह्यो । कोरोनाको जोखिमपछि हाल पुनः असोज महिनादेखि बामे सर्दै गरेका होटल बन्द हुने हो कि भन्ने चिन्ताले सताउने गरेको गुनासो आउन थालेको हानका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए ।

‘तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन्, होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए । हालसम्म त आन्तरिक पर्यटक बढ्दै छन्, तर पछिल्लो दिनमा कोरोना संक्रमण बढ्दै गएपछि विदेशी पाहुनाको चहलपहल घट्दै गएको छ ।’