काठमाण्डौ। नेपालमा चिसो झन बढेको छ। आज (शनिवार) काठमाण्डौमा यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो ।
बिहीवार यो वर्षकै कम न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस मापन गरिएकोमा आज ० दशमलव ६ डिग्री तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए ।
उनका अनुसार देशका अरु ठाउँमा पनि आज न्यूनतम तापक्रम घटेको छ । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । तराईका जिल्लामा पनि तापक्रम घटिरहेको छ । तराईमा हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । आज पहाडी र हिमाली क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ।