लाइसेन्सको नयाँ आवेदन आजदेखि खुला, ७० अंक ल्याए लाइसेन्स पाइने


खबरस्टोरी संवाददाता
९ कार्तिक २०७८, मंगलवार
लाइसेन्सको नयाँ आवेदन आजदेखि खुला, ७० अंक ल्याए लाइसेन्स पाइने

काठमाडौं।  यातायात व्यवस्था विभागले आज (मंगलबार) देखि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ ।

 विभागले कोरोना भाइरस महामारीका कारण गत वैशाख १६ देखि नयाँ आवेदन लिन बन्द गरेको थियो।  

सोमबार रातिदेखि नयाँ आवेदन खुला गरिएको र अब नियमित फाराम भर्न सकिने विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए।  आवेदन विभागको वेबसाइटबाट दिन सकिने छ।  

यस्तो छ परीक्षाको नयाँ निर्देशिका

नयाँ आवेदकहरुले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ का अनुसार परीक्षा दिनुपर्नेछ। जसमा लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ। ती प्रश्नको अंक भार १०० नम्बरको हुने छ भने नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याए उत्तीर्ण हुने छ।  निर्देशिका अनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ। त्यसमध्येबाट प्रश्न सोधिने छ।  हाल प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुन्छ । तर, नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुने  विभागले जनाएको छ।