काठमाडौँ। नेपाल पत्रकार महासङको केन्द्रीय समिती बैठक सुरु नहुदै आर्थिक तथा अवार्ड काण्ड लगायतबारे छानबिन समिती गठन नगरेसम्म बैठक अघिबढ्न नदिने भन्दै बहिष्कार गरिएको छ । कपिलवस्तुको तौलिहवामा बोलाइएको बैठकमा पुगेका केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेका हुन्।
केन्द्रीय सदस्यहरू बैठक कक्षबाट बाहिरिएपछि बिहान १० बजे सुरू हुने भनिएको बैठक बस्न सकेको छैन। सहमतिको प्रयासमा अहिले पदाधिकारीहरूको बैठक बसिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।
महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नसाथ केन्द्रीय सदस्यहरूले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताएका थिए।
बहिष्कार गरेकाहरूले छानविन समिति बनाउन माग गरेका छन्। महासंघकी उपाध्यक्ष बाला अधिकारीको उपस्थितिबारे पनि प्रश्न उठेको छ। केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, सुनिल खड्का, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारी, ज्ञानहरि पौडेन, दीपेन्द्र शर्मा, राधा नेपालीलगायत बैठक कक्षबाट बाहिरिएका छन्।
ड्रिम हाइ नेपाल नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीले पुस २४ गते काठमाडौंको सोल्टी होटल आयोजना गरेको अवार्ड कार्यक्रममा महासंघका केही पदाधिकारीले महासचिव पुरीको हस्ताक्षरको दुरुपयोग गरेको बताइएको छ। आर्थिक लोभमा उनीहरूले उक्त काम गरेको केही सदस्यहरूको दाबी छ।