काठमाडौँ। नेपालमा पुस महिनामा २४ जनालाई कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।
देशभरबाट पीसीआर र एन्टीजेन विधिबाट संकलन गरिएका नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ती नमुनामा एस-जिन नेगेटिभ पुष्टि भएको हो । यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् ।
ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ । साथै, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ ।