पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना


खबरस्टोरी संवाददाता
२३ पुष २०७८, शुक्रबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । 

माैसम बदलीले आज बिहान प्रदेश १ र २ का एकदुई स्थानमा हल्का वर्षा भएको छ। दिउँसो सातै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

शनिबार सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।