राष्ट्रियसभाको निर्वाचन बैतडीले हार्ने बेला टिकट पाउँछ


खबरस्टोरी संवाददाता
११ माघ २०७८, मंगलवार
राष्ट्रियसभाको निर्वाचन  बैतडीले हार्ने बेला टिकट पाउँछ

बैतडी । बुधबार राष्ट्रियसभाको उपनिर्वाचन हुन गइरहेको छ । देशभर १९ सिटका लागि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदाता भोट हाल्ने ठाउँमा पुगिसकेका छन् सुदूरपश्चिम प्रदेशअन्तर्गत तीन जनाको लागि भइरहेको निर्वाचनमा नेकपा ९एमाले०ले बैतडीका नरेशकुमार विश्वकर्मालाई उम्मेदवार बनाएको छ । उनलाई उम्मेदवार बनाए पनि जित्ने सम्भावना कम देखिन्छ । यसअघिसमेत हार्ने निश्चित भएका बेला बैतडीका दुई व्यक्तिलाई उम्मेदवार बनाइएको थियो । गत चुनावमा नेपाली कांग्रेसले बैतडीका शेरीराम पार्की र प्रतापसिंह ठगुन्नालाई हार्ने निश्चित भएका बेला उम्मेदवार बनाएको थियो । फलस्वरुप उनीहरू दुवै जना हारे । तर, अहिले कांग्रेस माओवादी र नेकपा ९एकीकृत समाजवादी०को गठबन्धन भएकाले जित्ने सम्भावना भएका बेला भने ती व्यक्तिले टिकट पाएनन् । 

चुनाव जित्ने बेलामा अन्य जिल्लाका व्यक्तिहरूलाई प्रतिस्पर्धामा उतार्ने र हार्ने बेला बैतडीका व्यक्तिलाई उम्मेदवार बनाउने सबै दलको परिपाटी नै देखिएको छ । अहिले सुदूरपश्चिमबाट ५२जना प्रदेशसभा सांसद र अन्य स्थानीयतहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २सय २७ जनाले मतदान गर्नेछन् । प्रदेश सांसदको मतभार ४८ रहनेछ भने पालिका प्रमुख उपप्रमुखको मतभार १८ रहनेछ ।सुदूरपश्चिममा गठबन्धनका तर्फबाट खुल्लातर्फ नेपाली कांग्रेसका नारायण मिश्र९कैलाली०, महिलातर्फ नेकपा९एस०का गरिमा शाह ९बाजुरा० र दलिततर्फ माओवादीका जगत पार्की ९डडेल्धुरा० लाई उम्मेदवार बनाएको छ ।  

यसैगरी नेकपा ९एमाले०बाट खुल्ला पुरुषतर्फ दिल्लीराज भट्ट ९कैलाली०, महिलातर्फ सन्तोषी शर्मा९कैलाली० र दलित तर्फ नरेश कुमार विश्वकर्मा ९बैतडी०लाई उम्मेदवार बताएको छ । बैतडीबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार विश्वकर्मा २०४६साल यता राजनीतिमा सक्रिय छन् । उनी अहिले नेकपा९एमाले०को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन् । विश्वकर्मा स्थानीयतहको चुनावमा बैतडीको पाटन नगरपालिकामा मेयरका उम्मेदवार बनेका थिए । 

विश्वकर्मासँगको प्रतिस्पर्धामा रहेका पार्की माओवादी नेता हुन् । तर, पार्की भने बन सम्बन्धी मुद्दा अन्तरगत अदालतबाट सजाय समेत पाएका व्यक्ति हुन् । अभियोग लागेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै विरोधसमेत भएको छ ।