धनुषा। सीके राउत नेत्वतको जनमत पाटीले आह्वान गरेको चक्काजामका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धनुषामा झडप भएको छ। झडपमा परेर ८ सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन्।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहामा आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरेपछि राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो।
झडपमा घाइते भएकाहरुको नाम अहिले खुलेको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा करिब एक दर्जन अश्रुग्यास प्रहार भएको बताए। उनले प्रदर्शनकारीको तर्फबाट ढुंंगामुढा हुन थालेपछि जवाफमा प्रहरीको तर्फबाट अश्रुग्यास प्रहार भएको बताए।
प्रहरी नायब उपरीक्षक बस्नेतले प्रदर्शनको क्रममा प्रहरीको तर्फबाट दुईजना जवान घाइते जानकारी दिए पनि प्रदर्शनकारीहरुको तर्फबाट घाइते भएको बारेमा खुलाएनन्। यद्यपि प्रदर्शकारीका अनुसार झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जना प्रदर्शनकारी घाइते भएको बताएका हुन्।