Media Network

सङ्गीतकार अविरललाई एकैबेला पितृ–मातृशोक


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

काठमाडौँ । लोकप्रिय सङ्गीतकार आशिष अविरलले परिवारमा अकल्पनीय वियोगको सामना गर्नुपरेको छ । उनले बुबा बितेको सातादिन नबित्दै आमालाई पनि गुमाएका हुन्  ।  गलकोट नगरपालिका–७ मल्म निवासी ८१ वर्षीय बुबा बलहादुर दिवङ्गत भएपछि किरियामै रहेका बेला अविरललाई मातृशोक परेको हो । उनका  आमा चित्रकुमारीको ७९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । श्रीमान् बितेको दुई दिनमै मष्तिष्कघात भएपछि चित्रकुमारीलाई उपचारका लागि पोखरा लगिएको थियो । 

औषधोपचारले निको नभएर स्वास्थ्य जटिल बनेपछि उनलाई आइतबार घर ल्याइएको थियो । अविरलका भाइ कर्णले बुबाआमा दुवैमा उच्च रक्तचापको समस्या देखिएको र त्यसले मष्तिष्कघात निम्ताएको बताएका थिए । “बुबाकोझैँ समस्याले आमा पनि बित्नुभयो, बचाउन सकिएन”, उनले भने। बलबहादुरको गत मङ्गलबार निधन भएको थियो । दुवैको एकैबेला भएको निधनले परिवारजन र छरछिमेकी शोकमा छन् । दिवङ्गत चित्रकुमारीको आजै स्थानीय गौँदी घाटमा अन्त्येष्टि गरिएको छ । उहाँका दुई छोरा, तीन छोरी र नातिनातिना छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद