Media Network

सुनलाई ‘भाग्यशाली’ मान्थे बप्पी, सुनको टिसर्ट उपहार पाएका थिए


खबरस्टोरी संवाददाता

५ फाल्गुन २०७८,बिहीबार

काठमाडौं– बलिउडका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको लामो अस्वस्थता पछि मंगलबार राति निधन भयो । उनले ६९ वर्षको उमेरमा मुम्बईको क्रिटी केयर अस्पतालमा अन्तिम श्वास फेरे । बप्पी ओब्स्ट्रक्टिव स्लीप एपनिया ओएसए र रिकरेन्ट चेस्ट इन्फेक्सनबाट पीडित थिए ।संगीत उद्योगमा बप्पीले अभूतपूर्व उपलब्धि हासिल गरे । तर, आफ्नो सांगीतिक करियरका अलावा उनी सुन प्रेमका कारण पनि चर्चामा आइरहन्थे । बप्पी सुनलाई भाग्यशाली मान्थे, त्यही कारण सुनलाई उनले कहिल्यै छोडेनन् । सुनको गहना लगाएर बप्पीले आफ्नो सिग्नेचर लुक सिर्जना गरे, जुन सदाका लागि सम्झनलायक बन्यो ।

एक अन्तर्वार्तामा बप्पीले सुनप्रति आफ्नो मोहलाई खुलाएका थिए। उनका अनुसार उनी अमेरिकन स्टार एल्विस प्रेस्लीको ठूलो फ्यान थिए । एल्विसलाई उनको हरेक प्रस्तूति पछि सुनको चेन लगाइदिने गरिन्थ्यो । त्यो समयमा बप्पी संघर्षको यात्रामा थिए । एल्विसलाई सुनको चेन लगाइदिएको देखेपछि उनले आफूले पनि सफलता पाएपछि धेरै सुनको चेन र गहना लगाउने वाचा गरेका थिए । उनले त्यो वाचा साँच्चै नै पूरा गरे । उनले शरीरमा सुनको गहना यति धेरै लगाए कि उनलाई भारतको ‘गोल्डमेन’को उपाधि नै दिइयो ।
उनी जहिल्यै गलामा कैयौं मोटा(मोटा चेन, औंलामा कैयौं औँठी लगाउँथे । यी गहना उनका लागि विशेष थिए । उनले गलामा जति चेन लगाए, ती चेनको आफ्नै नाम थियो । भगवानप्रति अथाह आस्था राख्ने बप्पीसँग चेनको नाम गणपति बप्पा, हरे कृष्णा, बालाजी, जय माँ दुर्गा राखेका थिए । उनले आमाबाट उपहारका रुपमा पाएको पहिलो चेनको नाम हरे कृष्णा राखेका थिए । उनीसँग सुनको ब्रासलेट र औँठीको कलेक्सन नै थियो ।

सुनको सौखिन बप्पीले पछिल्लोपटक सुनको टिसर्ट धनतेरसमा पाएका थिए । उनले यो टिसर्ट श्रीमतीबाट उपहार स्वरुप पाएका थिए ।‘डिस्को डान्सर’ गायक बप्पीले सन् २०१४ मा भएको लोकसभा चुनावमा आफ्नो दाबेदारी प्रस्तूत गरेका थिए । उम्मेद्वारी दर्ताको समयमा आफ्नो सम्पत्ति र सुनचाँदीको विवरण पनि बुझाएका थिए । त्यो समयमा उनले विवरणमा ७ सय ५२ ग्राम सुन, ४ किलो ६३ ग्राम चाँदी उल्लेख गरेका थिए । बप्पी २० करोड सम्पत्तिका मालिक थिए ।बप्पीले बलिउडमा करिब ४८ वर्षसम्म आफ्ना गीतका कारण दर्शकको मन जिते । उनले करिब ५ सय फिल्ममा ६ हजार बढी गीत कम्पोज गरे र त्यति नै गीत पनि गाए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद