काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन विहीबार घर घरमा भगवान लक्ष्मीको पूजा आरधना गरिँदैछ ।
कात्तिक कृष्ण पक्षको औंसीका दिन लक्ष्मीको पूजा गरिन्छ । साथै औंसीको दिन लक्ष्मी माताको रुपमा गाई पुज्ने गरिन्छ ।
कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने प्रचलन छ ।
यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो बनाई लक्ष्मीको आह्वान गरिन्छ ।
भगवान रामचन्द्रले आजकै दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको रामायणमा उल्लेख छ ।
यस्तै यमपञ्चकको पाँच दिन यमराज आफ्नी बहिनी यमुनाकहाँ बस्ने र यो समयमा मृत्यु भएकाहरू नरक जान नपर्ने विश्वास गरिन्छ । यसैको खुसीयालीमा आजको दिन दीपावली गरी मनाइने विश्वास छ ।
लक्ष्मी पूजाको दिन सुख समृद्धिको मनोकामनासहित माता लक्ष्मीको विशेष पूजाआराधना गरिन्छ । घर तथा व्यवसायको भण्डारण कक्ष, दराज आदिमा लक्ष्मीको प्रसाद चन्दन, अबिरलाई स्वस्तिक चिन्ह अंकित गर्ने प्रचलन छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।