काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन् । भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्दै लैजान सरकार लागिपरेको बताएकी हुन् ।
काठमाडौँको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको शनिबार उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरेकी हुन्।
ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै उनले यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्याउन पनि सबै क्षेत्रलाई आग्रह गरिन्।
‘आफ्नै देशको जलस्रोत हो। यसबाट उत्पादित बिजुली सस्तो हुनुपर्छ भनेर मैले शुल्क पनि घटाएको जानकारी गराउँदछु। ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस् भनेर अपिल गर्न चाहन्छु। भान्सामा प्रयोग गर्ने एलपी ग्यास होस् वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस्’, मन्त्री भुसालले भनिन्, ‘अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं। जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ। सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ। र, यसले असन्तुलित व्यापार घाटालाई न्यूनीकरण गर्न पनि सकिन्छ ।’
सरकारले विद्युत विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको स्मरण गराउँदै उनले अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताइन्।