आक्रामक रवि, गुमनाम बालेन


खबरस्टोरी संवाददाता
४ चैत्र २०८२, बुधबार
आक्रामक रवि, गुमनाम बालेन

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका १ सय ८२ जना सांसद सिंहदरबारभित्रको नयाँ संसद भवनमा छिर्ने तयारीमा छन् । 

रास्वपाले प्रत्यक्षतर्फ १ सय २५ र समानुपातिकतर्फ ५७ सिट हात पारेको छ । निर्वाचित अधिकांश सदस्यहरु नयाँ छन् । जो पहिलो पटक संसद छिर्ने अवसर पाएका छन् । त्यसैले उनीहरुलाई संसदीय मामिलाका धेरै कुराहरुको ज्ञान छ । संसदीय अभ्यास र संसदीय मामिलाबारे जानकारी दिनकै लागि रास्वपाले ललितपुरको एक होटलमा २ दिने अभिमुखीकरण राख्यो । 

पहिलो दिन रास्वपा सभापति रवि लामिछाने उपस्थिति भएनन् । लामिछानेसँगै चुनावअघि मात्रै प्रधानमन्त्री बनाउनुपर्ने लिखित सहमति गरेर रास्वपा प्रवेश गरेका बालेन्द्र साह पनि उपस्थिति भएनन् । विरामी भएर दुई दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका लामिछाने अभिमुखीकरणको दोस्रो दिन उपस्थित मात्र भएनन्, जिम्मेवार अभिब्यक्ति दिए । जसले पुरातनवादी दल भनिएका दलका नेताहरुसमेत आश्चार्यचकित भए । रविको अभिब्यक्तिको प्रशंसा गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखे । 

खासगरि रास्वपामा विभिन्न गरिका मानिसहरुको जमघट छ । पार्टी मात्र नभई संसदमा पनि त्यस्तै जमघट छ । त्यसैले मन्त्री लगायतका पदीय लालचामा दौडधुप गरिरहेका छन् । ती सबै दृष्य देखेका रविले प्रशिक्षणको मौकामा चेतावनीपूर्ण अभिब्यक्ति दिए– ‘अहिलेसम्म कसलाई मन्त्री बनाउने निर्णय नभएको छैन, गुट बनाएर मिडिया ट्रायल कसैले नगर्नुस् ।’ उनले आफू केन्द्रित राजनीतिबाट माथि उठ्न आग्रह गरे । लामिछानेले देशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । आफ्नाभन्दा देश र समाजका सपनालाई बोक्नुपर्ने उनको भनाइ थियो । 

बालेनको सत्ता निर्माणको रणनीति कि कोठे राजनीति ? 

पार्टीबाट जितेका एक सय ८२ सांसदहरूलाई एक अर्कासँग परिचित गराउन र संसदीय अभ्यासबारे जानकारी गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको दुई दिने बन्द प्रशिक्षणमा अबको प्रधानमन्त्री भनिएका बालेन्द्र साह ‘बालेन’ भने अनुपस्थित रहे । 

बालेन रास्वपाका मात्र नयाँ होइनन् संसदका पनि नयाँ हुन् । रविले यसअघि संसदको अनुभव गरिसकेका हुन् । बालेनले संसदीय राजनीति मात्र होइन, संसदको मर्यादाबारे पनि सिक्न जरुरी छ । तर उनी आफूलाई सबैकुराको ज्ञाता सम्झन्छन् । 

चुनावअघि पनि रास्वपा कार्यालयमै छिर्न नचाहेका उनी चुनाव पछि पनि आफ्नै सम्पर्कस्थल बनाएका छन् । संसदीय दलको नेता नबनी प्रधानमन्त्री बन्न नपाउने संंविधानमै उल्लेख छ । त्यसैले प्रधानमन्त्री बन्नका लागि बालेन रास्वपा संसदीय दलको नेता बन्नुपर्नेछ । संसदीय दलको नेता रास्वपाका सांसदहरुले नै चुन्ने हो । आफूले प्राप्त गरेको प्लेटफर्म र त्यसका सांसदहरुलाई नै वेवास्ता गरेर बालेनले आफूलाई नामुद राजनीतिक सावित गर्न खोजेका हुन् कि रास्वपालाई पीठ्यू पछाडी राखेका हुन्, केही समयपछि नै भेद खुल्दै जानेछ ।