अघिल्लो निर्वाचनमा तीन तहमा मतदान भएको थियो । तीन तहमा मतदान हुँदा दोस्रो र तेस्रो पटकको मतदानबाट निर्वाचित प्रतिनिधिको कार्यकाल पूरा नहुने भन्दै सर्वोच्च अदालतमा मुद्दासमेत परेको थियो । जेठ ५ मा आफूहरुको कार्यकाल नसकिने भन्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतले निर्वाचन रोक्न माग गरेका थिए । तर, सर्वोच्चले निवेदकको मागबमोजिम निर्वाचन रोक्न आदेश दिन अस्वीकार गरेको थियो ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४(४) अनुसार २०७४ मा तीन चरणमा चुनाव भएपनि सबै स्थानीय जनप्रतिनिधिको कार्यकाल आज सकिएको जनाएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा पहिलो चरणमा २०७४ वैशाख ३१ गते, दोस्रो चरणमा सोही वर्षको असार १४ गते र तेस्रो चरणमा सोही वर्षकै असोज २ गते मतदान भएको थियो ।
पहिलो चरणमा बागमती, गण्डकी र कर्णाली प्रदेशमा, दोस्रो चरणमा प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम तथा तेस्रो चरणमा मधेश प्रदेशमा मतदान भएको थियो ।
हालै वैशाख ३० गतेसम्म ७५३ वटौ स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम अवस्थामा पुगेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार शुक्रबारसम्म ८० प्रतिशत भन्दा बढी मतगणना भइसकेको छ ।
विधानको धारा २१५ को उपधारा ६ मा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था र धारा २१६ को उपधारा ६ मा रहेको नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ ।