Media Network

अमेरिकाको उच्चस्तरिय भ्रमण तयारी गर्दै प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

१३ जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ।  प्रधानमन्त्री शेरबहादुर देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने भएका छन्  । पछिल्लो समय नेपालको अमेरिकासँग सम्बन्ध निकै सुदृढ भएको छ । देउवा प्रधानमन्त्री बनेपछि एमसीसी सदनबाट पारित भएको छ । अमेरिकी सहयोग निकाय युएसएआइडीले थप सहयोग घोषणा गरेको छ ।

दुई दशकपछि नेपालको सरकार प्रमुखबाट अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । 

नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी गृहकार्य दुवैतर्फ चलिरहेको कूटनीतिक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको भ्रमणअघि प्रधानसेनापति प्रभुराम शर्मा वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम छ । सैनिक स्रोतका अनुसार शर्माले असारको पहिलो वा दोस्रो साता भ्रमण गर्ने गृहकार्य भइरहेको छ । 

नेपालले आउने कात्तिक/मंसिरलाई आधार मानेर संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने र त्यसको करिब १ सय २० दिनअघि नै निर्वाचन घोषणा गर्नुपर्ने भएकाले देउवाको भ्रमण छिट्टै हुन लागेको हो । निर्वाचन घोषणा भएपछि प्रधानमन्त्री औपचारिक भ्रमणमा जान मिल्दैन । प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले भ्रमणका सम्बन्धमा दुवै पक्ष सकारात्मक रहेको बताए । ‘तर अहिले नै कहिले भ्रमण हुन्छ वा हुन्न भन्ने बेला भइसकेको छैन,’ उनले भने ।

नेपालबाट राजा महेन्द्र शाहले अमेरिकाको दुई पटक (सन् १९६० र १९६७ मा) र राजा वीरेन्द्र शाहले एक पटक (सन् १९८३ मा) राजकीय भ्रमण गरेका थिए । त्यसपछि नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा २०५९ मा देउवाले अमेरिकाको औपचारिक भ्रमण गरेका हुन् । नेपालबाट पछिल्लो पटक चार वर्षअघि सन् २०१८ मा (२०७५ पुस ३–५) तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । अमेरिकाबाट उच्च तहको नेपाल भ्रमण नभए पनि पछिल्लो समय अमेरिकी अधिकारीहरूको भ्रमण बाक्लिएको छ । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जियाले यही जेठ ६–८ मा नेपालको भ्रमण गरेकी थिइन् । उनीसँगै अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी थिइन् ।


यसअघि सिनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा सांसदको ५ सदस्यीय टोलीले वैशाख ९–११ मा नेपाल भ्रमण गरेको थियो । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङ वैशाख ६ मा आएर पर्सिपल्ट फर्किएका थिए । संसद्बाट फागुन १५ मा एमसीसी सम्झौता अनुमोदन गर्नुअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आएका थिए । यसअघि सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद