Media Network

भ्यूटावर उदघाटनः आ–आफ्नै स्वार्थ


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमवार रोल्पाको सातदोबाटोमा निर्माण गरिएको भ्यूटावरको उदघाटन गरे ।  रोल्पा नगरपालिका–२ सातदोबाटोमा सोही नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति भ्यूटावरको उदघाटन गर्न प्रचण्ड हेलिकोप्टर चढेर रोल्पा पुगेका थिए । 

रोल्पा नगरपालिकाले झण्डै पाँच करोड लागतमा ११२ फिट अग्लो भ्यूटावर निर्माण गरेको हो । माओवादी युद्धकाबेला मृत्युवरण गरेका शहीदको स्मृतिमा निर्माण गरिएको भ्यू टावर स्थानीय तह निर्वाचनको मुखमा उदघाटन गरिएको हो । 

टावर उदघाटन गर्दै प्रचण्डले रोल्पा हिजो पनि आज पनि र भोलि पनि माओवादी किल्ला हुनुपर्ने भन्दै आफ्नो पार्टीलाई भोट दिएर जिताउन अपिल गरे । उनले रोल्पामा आफू जनयुद्धका समयमा दुई वर्ष वसेको पनि रोल्पालीलाई स्मरण गराए । उनले अहिले आफ्नो पार्टी शान्तिका पक्षमा भए पनि चुनाव जित्न जस्तो पनि हतकण्डा अपनाउन पनि कार्यकर्तालाई निर्देशित गरे । रोल्पा माओवादी युद्धको उदगम थलो मानिन्छ । यहिँबाट थालनी भएको युद्धकै बलमा अहिलेको अवस्था आएको भन्दै प्रचण्डले रोल्पामा आफ्नो पार्टीले हारेमा अहिलेसम्मका सबै परिवर्तन र उपलब्धी सिद्धिने बताएका थिए । 

माओवादी युद्धकालमा लामो समय बिताएका प्रचण्डलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पालीले जिताएका थिए । रोल्पा र काठमाडौंबाट २ निर्वाचन क्षेत्रबाट उठेका प्रचण्डले चुनाव जितेपछि रोल्पालाई छाडेर काठमाडौं रोजेका थिए । तर २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्ड काठमाडौंबाट पराजित भएका थिए । 

पहिलो संविधानसभा निर्वाचनमा प्रचण्डले छाडेको क्षेत्र रोल्पा क्षेत्र नम्बर २ मा भएको पुनः निर्वाचनमा तत्कालिन माओवादी युद्धका जनसरकार प्रमुख सन्तोष बुढामगरले चुनाव जितेका थिए । उनी अहिले विप्लव नेतृत्वको नेकपामा छन् । 

चक्रेश्वरी–ब्राइट जेभी काठमाडौंले ठेक्का लिएको दुई हजार ५५ मिटर उचाइको यो भ्यू टावर निर्माणको लागत चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ लागेको रोल्पा नगरपालिकाले जनाएको छ । 

पर्यटन प्रवद्र्धनलाई जोड दिन भन्दै रोल्पामा जस्तै देशका अधिकांश जिल्लामा भ्यू टावरहरु निर्माण गरिएका छन् । रोल्पाकै थवाङ लगायतका विभिन्न ठाउँमा पनि साना लगानीमा भ्यू टावरहरु निर्माण गरिएका छन् । 

प्रचण्डले रोल्पामा भ्यू टावर उदघाटन गरेको भोलिपल्ट मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको भ्यू टावरको उदघाटन गरे । 

सोमवार प्रचण्डले रोल्पाको भ्यू टावरको उदघाटन गरेपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो । रोल्पालीको पीडा एकतिर टावर अर्कोतिर भन्ने आशयमा दिनभर नै आलोचना भइरह्यो । टावर बन्ने पैसाले रोल्पालीले शिक्षा, स्वास्थ्य, बाटोघाटो पाउने आशयमा चर्चा चुलियो । त्यसैको भोलिपल्ट अर्को टावर उदघाटनमा एमाले अध्यक्ष ओलीले निकै तौलिएर बोले । 

ब्यवसायिक प्रयोजनका लागि करिब १४ करोड लागततमा निर्माण गरिएको तिलोत्तमा बहुउदेशीय टावरको उद्घाटन गर्दै ओलीले आवश्यकताअनुसार मात्रै भ्यू टावर निर्माण गर्नुपर्नेमा जोड दिए । विकासमा जोड दिनु सकारात्मक भन्दै उनले टावरसँगै मेडिकल कलेज र युनिभर्सिटी निर्माण गर्न पनि जोड दिए । 

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको १० तले भ्यूटावरमा होटेल, व्यवसायिक पसल, पुस्तकालय आदि रहने नगरपालिकाले जनाएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद