काठमाडौं । झापा भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकले त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरेका छन् । शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ फर्किएका थिए । राजावादी समर्थकहरुले स्कर्टिङसहित उनलाई निर्मलनिवास पु¥याएका हुन् ।
शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक पुगेका थिए । उनीहरूले राजसंस्थासमर्थित नारासमेत लगाएका थिए ।
बालेन शैलीमा सनरुफ गाडीबाट टाउको निकालेर अभिवादन गर्दै पूर्वराजा शाह विमानस्थलदेखि निर्मल निवास पुगेका थिए ।
विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति थियो ।
समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाएका थिए । विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरे पनि निषेधाज्ञा तोड्दै समर्थकहरुले शाहको स्वागत गरेका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले शाहलाई विमानस्थल भित्रैबाट स्वागत गरेका थिए । यसअघि गत वर्ष फागुन २५ गते पोखराबाट फर्किने क्रममा पनि राजावादीहरुले त्यसैगरी स्वागत गरेका थिए ।