हाल सत्तारुढ ५ दलीय गठबन्धनमा स्थानीय तहमा एमालेले जितेको सीट भागबण्डामा समेत समझदारी बनेको छैन । सरकारको नेतृत्व गरिरहेको दल नेपाली काँग्रेसले सवैभन्दा ठूला हिस्सा लिन खोजिरहेको छ भने नेकपा एमालेले जितेको सीटमा सवैभन्दा धेरै हक आफ्नो दलको लाग्ने एकीकृत समाजवादीको छ । माओवादी केन्द्रले भने काँग्रेस र एकीकृत समाजवादीले गठबन्धनको मर्म अनुसार व्यवहार नगरेकाले तालमेल कठिन हुँदै गएको टिप्पणी गरेको छ ।
यही वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता हुँदैछ। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी हुँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन्। गठबन्धनले महानगर, उपमहानगरसहित महत्वपूर्ण स्थानीय तहमा केन्द्रबाट सहमति गर्ने स्थानीय तहका अन्य स्थानमा स्थानीय तहालाई नै जिम्मा दिने तयारी गरेको हो। नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। एकीकृत समाजवादीले एक महानगर र तीन उपमहानगरमा दाबी गरिरहेको छ। जनता समाजवादी पार्टीले पनि एक महानगर र दुई उपमहानगरपालिकामा दाबी गरेको छ।