चुनावकै कारण निर्वाचनमा भाग लिन लागेका र निर्वाचन बहिष्कारकै नीति लिएका दलहरुमा पनि चुनावी ध्रुवीकरण शुरु भएको छ ।
अघिल्लो निर्वाचनमा दुई ठूला कम्युनिस्ट पार्टीको एकताका कारण तत्कालिन नेकपा सबैभन्दा ठूलो पार्टी बनेको थियो । तर चार वर्षे कार्यकाल पूरा नहुँदै एकताले काम गरेन । हिजो एकै ठाउँमा भएका दलहरु सरकारमा सहभागी भएपछिको जुँगाको लडाईँले अलग बनाइदियो ।
गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले एक्लै झण्डै ४० प्रतिशत सिट जितेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा अघि एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन गर्दै चुनावमा लड्ने र पछि पार्टी एकता गर्ने निर्णयसँगै उक्त गठबन्धन संघ र प्रदेशको निर्वाचनबाट ठूलो पार्टीमा दरिए ।
आलोपालो सरकारको सहमतिमा एकाकार बनेको गठबन्धनलाई तितरबितर अवस्थामा रहेका बामपन्थी दलहरुबीचको एकताले नयाँ आधार तय गर्लान् की भन्ने अभिप्रायका साथ आमसर्वसाधारणहरुले मत दिएका थिए । नेपालमा अस्थिर सरकारका कारण काम गर्न नसकिएको अवस्थामा स्थिर सरकारको नारा पनि बाम दलहरुले लगाएका थिए । त्यसको परिणाम पनि राम्रै आयो । निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच औपचारिक एकता गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो ।
नेकपाको गठनपछि विगतदेखि नै ठूलो पार्टीको हैसियतमा रहदै आएको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा खुम्चियो । तर, नेकपाभित्रै नेताहरुबीचको आन्तरिक मतभेद र विवादका कारण नेपालको राजनीतिमा फेरि नयाँ मोड आयो । ठूला पार्टीका नेताहरु विभाजित भई प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई सत्तामा पुर्याए ।
कमजोर जगमा निर्माण भएको बाम एकतालाई न्यायिक निकाय सर्वोच्च अदालतले एकता पूर्वको अवस्थामा ल्याइपुर्यायो । यसैलाई एमाले अध्यक्ष केपी ओलीले अहिले पनि जननिर्वाचित सरकारलाई विस्थापित गरी सर्वोच्चको परमादेशबाट बनेको सरकार भनेर घोंचपेच गरिरहेका छन् ।
तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालबीचको विवाद नै नेकपा विभाजनको प्रमुख कारण बन्यो । नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा पुगे । फेरि एमालेको माधव नेपालसहितका एउटा समूह छुट्टै पार्टी गठन गरेर एमालेबाट अलग भयो । एमालेको तत्कालिन महासचिव भइसकेका नेता नेपालले पार्टी विभाजन गर्दै एकीकृत समाजवादी नामक नयाँ दल दर्ता गरे ।
चुनावी तालमेलको बहस, तर कोसँग ?
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले एक अर्काबीच तालमेलको बहस चलाइरहेका छन् । एमाले नेतृत्वको सरकारलाई विस्थापित गर्न बनेको कांग्रेससहितको पाँच दलीय गठबन्धन नै कायम गर्ने कि फेरि पनि तुष मेटाएर बाम एकता गर्दै अघि बढ्ने भन्ने दुईथरी बहस चलिरहेको छ ।
कांग्रेसलाई सत्तासिन गराएका प्रचण्ड नेतृत्वको माओवादी र माधव नेतृत्वको एकीकृत समाजवादी जसरी भए पनि कांग्रेससँगै मिलेर चुवाव लड्ने योजनाका साथ अमेरिकी सहयोग परियोजना एमसीसीलाई समेत संसदबाट अनुमोदन गराए । आफैले काँध चढाएर सत्तासिन बनाएको कांग्रेस भने गठबन्धन तोडेरै एक्लै चुनाव लड्न कस्सिएपछि को कसको गाँठो पर्ला अझै अनिश्चित छ ।
कांग्रेस नेताहरुले गठबन्धनकै नेताहरुलाई सत्तोसराप गर्न थालेपछि सत्ता गठबन्धन चुनावसम्मै रहने नरहने अनिश्चित बन्दै गर्दा बाम तालमेलको कुरा बहसमा आएको हो । एमालेका घनश्याम भुसाल लगायतका नेताहरुले फेरि पनि कम्युनिस्ट एकताको पक्षमा बहस चलाइरहेका छन् ।
नेकपा एमालेको बैठकमा मध्यमार्गी धारका नेताहरुले फेरि वामपन्थी दलहरुबीच गठबन्धन र एकता गर्दै अघि बढ्नुपर्ने विषयको उठान गरे । सत्ता गठबन्धनको डोरी नचुड्ने हो कि भन्ने शंशयमा रहेको एमालेले पनि चुनावी तालमेलको ढोका खुला राख्ने निर्णय गरिसकेको छ ।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत देश दौडाहाका क्रममा सार्वजनिक रुपमा बाम गठबन्धनको विषयमा धारणा राख्न थालेका छन् । माओवादी पार्टीभित्रै पनि बाम गठबन्धनको विषयलाई लिएर आन्तरिक दबाब बढेको छ ।
गत निर्वाचनलाई आधार मान्दा वामपन्थी दलहरुको मत राम्रो रहेको देख्न सकिन्छ । वामपन्थी दलहरुको विभाजनको फाइदा कांग्रेसलाई पुग्ने निश्चय नै छ । त्यसैले पनि वामपार्टीहरु गठबन्धन गरेर चुनावमा जाँदा फाइदा पुग्ने माओवादी नेताहरुको तर्क छ ।
बाम तालमेल कति सम्भव, कति असम्भव ?
वामपन्थी दलहरुबीचको एकताबारे बहसको थालनी भएतापनि भए पनि तत्काल यसको सम्भावना भने न्यून देखिन्छ । अध्यक्ष ओली तत्काल बामपन्थी दलहरुबीच एकता गरेर जाने पक्षमा भने नदेखिएको एक नेताले बताए ।
एमाले बैठकमा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलसँग चुनावमा गठबन्धन गरेर जानसक्ने अवस्था नरहेको बताएका थिए ।
पार्टी प्रमुख नै एकताको पक्षमा नदेखिएपछि स्वभाविकत एकताको सम्भावना क्षण देखिन्छ ।
राजनीतिक मुद्दा र विचारभन्दा पनि नेताद्वयको व्यक्तिगत मतभेद र सत्ता स्वार्थका कारण नेकपा विभाजित बनेको थियो । नेताहरुबीचमा पिल्सिएको इगो त्यति सहजै समाप्त हुने अवस्था नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी भने पनि एमालेसँगको गठबन्धनभन्दा पनि सरकारसँग सहकार्य गरिरहेको हुनाले कांग्रेससँगको गठबन्धनलाई नै चुनावसँग अगाडि बढाउने कसरतमा देखिन्छन् ।
हुन त नेपालको राजनीतिमा विगतको नजिर र घटनाक्रमहरुलाई हेर्दा सत्ता र स्वार्थमा लिप्त दलका नेताहरु जतिबेला जस्तोसुकै परिस्थितिको पनि विकास गर्नसक्ने देखिन्छ । यद्यपी सो खालको फरक परिवेशसहितको सम्भावनालाई भने नकार्न सकिँदैन ।