आज बिहान टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोजेको थियो । तर, बतास समूहका प्रतिनिधिले टोली देख्नेबित्तिकै गेट बन्द गरे । त्यसपछि सरकारी टोली गेट बाहिरै रोकिए ।
गेटभित्र प्रवेश गर्न खोज्ने र रोक्ने दुवै पक्षबिच गेटमा केहीबेर भनाभन समेत भएको छ । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर सरकारी प्रतिनिधिहरुले भने आफूहरुले आफ्नो प्रपर्टी हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।
सम्झौता अनुसार काम नभएको भन्दै कोषले चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । त्यसपछि गत सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न गोरखापत्रमा सार्वजनिक सूचना निकालेको थियो । सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन उल्लेख गरिएको छ ।