Media Network

चुनाव प्रचारमा नजाँदै सत्ता गठबन्धनमा जुहारी


खबरस्टोरी संवाददाता

२५ फाल्गुन २०७८,बुधबार

काठमाडौं । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको तयारी हुँदै गर्दा सत्ता गठबन्धन दलहरुमा जुहारी शुरु भएको छ । 

गठबन्धन बिना निर्वाचनमा जाँदा पार्टी नै सिद्धिने डर नेकपा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई छ । त्यसैले जसरी भए पनि कांग्रेसको हात नछाड्ने निश्कर्षमा पुगेका यी दलहरु पार्टी विरोधकैबीच विवादित एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न तत्पर भए । 

निर्वाचन नजिकिएपछि गठबन्धन सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले सबैभन्दा पहिले नै निर्वाचन केन्द्रित अभियानको घोषणा गर्यो । ‘घर घर जाउँ, कांग्रेसलाई जिताउँ’ भन्ने नाराका कांग्रेस फागुन २९ गतेबाटै जिल्ला जिल्ला र गाउँ गाउँ पुग्ने तयारी गरेको छ । कांग्रेस एकल तयारीका साथ गाउँ जान लागेपछि गठबन्धनका नेताहरु प्रचण्ड र माधव नेपाललाई टाउको दुखाई शुरु भएको छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतका जेष्ठ नेताहरु गठबन्धन कायमै राखेर निर्वाचनमा जानुपर्ने पक्षमा भए पनि युवा नेताहरु गठबन्धन कायम राखेर निर्वाचनमा जान तयार छैनन् । खासगरी संस्थापन इतर पक्ष शेखर कोइराला समूहले निर्वाचनमा गठबन्धन नहुने बताउँदै आएका छन् । 

निर्वाचनमा एकल रुपमा जाने मात्र होइन, उनीहरुले माओवादीसहितका कम्युनिस्ट नेताहरुको आलोचना गर्न शुरु गरिसकेका छन् । उनीहरुले आफू हात्ती भएको र माओवादीलाई चमरोको संज्ञा सार्वजनिक रुपमै दिइसकेका छन् । 

कांग्रेस नेताहरुको यस्तो अभिब्यक्तिले आक्रोशित बनेका प्रचण्डले बुधबार आफ्नो पार्टीको आन्तरिक प्रशिक्षणमा आफू भन्दा सानो पार्टीलाई सिंहासनमा लगेर राखेपछि अहिले अपमानित गर्न खोजेको भन्दै आक्रोश पोखे । आफूहरु भन्दा १०सिट सानो कांग्रेसले गरेको अपमान नसहने उनको भनाइ थियो ।   

यता, सत्ता गठबबन्धनको एक हिस्सेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय नेताहरुलाई स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसकेको सुनाए । तर कांग्रेस कार्यालयमा निर्वाचन अभियान घोषणा गर्दै गरेका कांग्रेस नेताहरुले गठबन्धन गरेर निर्वाचनमा जानेबारे निर्णय भइनसकेको स्पष्ट गरे । 

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन गरेर जानेबारे निर्णय भइनसकेको र ब्यापक छलफल गरेर मात्रै यसको टुंगो लाग्ने बताए । निर्वाचन प्रक्रिया शुरु भइसकेपछि मात्रै गठबन्धनबारे टुंगो लाग्ने उनको भनाइ छ ।  

कांग्रेस सभापति शेरबहादुर देउवापक्ष गठबन्धन कायम गरेर अघि बढ्नु पर्ने पक्षमा छ । त्यसैले देउवाले मंगलबारको बैठकमा समेत गठबन्धनका दलहको चित्त दुख्ने गरि अभिव्यक्ति नदिन निर्देशन नै दिएका थिए । शेखर पक्ष भने एक्लै चुनाव लड्ना पनि ११५ सिट जितिने दाबी गरेको छ । 

एक महिने अभियानको मूल्यांकन गरेर मात्रै कांग्रेसले गठबन्धनबारे औपचारिक निर्णय गर्ने तयारी गरेको छ । घर घर पुग्ने अभियान चलाउन लागेको कांग्रेसले तत्कालिन नेकपा सरकारको भण्डारफोर गर्ने र उनीहरुले एमसीसी अघि सारेको भन्दै एमसीसीमा पनि दोषी देखाउने योजना बनाएका छन् । 

तीनै तहको निर्वाचनमा गठबन्धन कायम गरेर जाने भन्दै पार्टीभित्रैको विरोधकाबीच प्रचण्ड र नेपालल एमसीसी पास गर्न सघाए पनि चुनावी प्रचारमा नजाँदै एकले अर्काको अवमूल्यन गर्न थालेका छन् । 

चुनावी मापन गर्दै एक अर्काविरुद्ध उत्रिन थालेपछि गठबन्धन चुनावमा सँगै जाने सम्भावना न्यून देखिएको छ । 

प्रचण्डले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा गठबन्धनको रक्षाका लागि एमसीसी अनुमोदन गर्नुपरेको बताइरहँदा विराटनगरमा कांग्रेस नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य चन्द्र भण्डारीसहितको लगायतले माओवादी अध्यक्ष प्रचण्डकै आलोचना गरेका थिए । 

बिराटनगरमै कोइराला पत्रकारसँगको कुराकानीमा पहिले पनि हारिसकेका प्रचण्डलाई गञ्जागोल गरेर जिताइएको प्रतिक्रिया दिएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद