काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनबारे रणनीति तय गर्न नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बुधबारदेखि शुरु हुने भएको छ । बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने एमालेले जनाएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने तथा उक्त प्रतिवेदनमाथि छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्नेछन् ।
यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो ।