काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटर पुगी उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो ।
भेटका क्रममा चिनियाँ विदेशमन्त्री वाङले प्रधानमन्त्री देउवालाई चीनको आर्थिक सहयोगमा निर्माण भएको पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका छन् ।
भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
चिनियाँ विदशेमन्त्री वाङ्ले आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । उनी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।