केही दिनदेखि दक्षिण एशियाली मुलुकको भ्रमणमा रहेका वाङ् तीन दिने भ्रमणका लागि शुक्रबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पाकिस्तानबाट भारत हुँदै उनी नेपाल आउन लागेका हुन् । विहीबार दिल्ली भ्रमण गरी चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार दिल्लीबाटै काठमाडौं आउने भारतीय मिडियाहरुले समाचार लेखेका छन् ।
नेपाल भ्रमणका क्रममा वाङ यीले द्वीपक्षीय औपचारिक भेटवार्ता गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रबार काठमाडौं आउने याङले पहिलो दिन कुनै पनि भेटवार्ताको कार्यक्रम नरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
शनिवार परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबीबीएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्या तथा बिआरआई परियोजना लगायतका विषयमा छलफल हुनेछ ।
काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।