नेकपा एमालेका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गर्नका लागि पाँच दलीय गठबन्धन बनेको थियो । पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ ।
विरोधकाबीच फागुन १५ गते अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरिएपछि जनमोर्चा गठबन्धनबाट अलग भएको हो । बाँकी चार पार्टी भने आगामी निर्वाचनसम्म नै गठबन्धन कायमै राखेर अघि बढ्ने योजनाका साथ अघि बढेका छन् ।
आगामी निर्वाचनसम्म नै गठबन्धन कायम राख्नकै लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी अन्तरविरोधकाबीच संसदबाट एमसीसी पास गराउन मुख्य भूमिका खेले ।
माओवादीमा चर्को अन्तरविरोध
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमसीसीकै विषयमा पार्टीभित्र चर्किएको विवाद हल गर्न केन्द्रीय समिति बैठकमा जवाफ दिइरहेका छन् । पार्टीमा अन्तरविरोध चर्किरहेको छ । एमसीसीकै कारण बरिष्ठ नेता नारायणकाजी समूह पार्टीबाटै अलग हुने अवस्थामा पुगेको छ ।
खासगरी कांग्रेससहितको गठबन्धन कायमै राख्नका लागि नै मैले यस्तो बाध्यात्मक निर्णय गर्नुपरेको भनी पार्टी वैठकमा प्रचण्डले ब्रिफिङ गरिरहेका छन् । उनले अब यो गठबन्धन चुनावसम्म नै जाने निश्चित भयो भनेर पनि ब्रिफिङ गरेको बैठकमा सहभागी केन्द्रीय नेताहरुले बताएका छन् ।
प्रचण्डले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा गठबन्धनको रक्षाका लागि एमसीसी अनुमोदन गर्नुपरेको बताइरहँदा विराटनगरमा नेपाली कांग्रेसका एउटा पंक्तिले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहेका थिए ।
नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता शेखर कोइराला समूहमा निर्वाचनमा अरु पार्टीसँग गठबन्धन गर्न नहुने पक्षमा एकमत छ ।
निर्वाचन केन्द्रित पहिलो कार्यक्रममा सहभागी हुन कोइरालासहित विराटनगर पुगेका कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य चन्द्र भण्डारी लगायतले निर्वाचनमा अरु दलसँग गठबन्धन नहुने एकमतले बताइरहेका थिए । कोइरालाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको भन्दै आगामी तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै लड्ने स्पष्ट गरे ।
कम्युनिस्ट एकता र विभाजन
गएको निर्वाचनमा ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच एकता नहुँदा छुट्टाछुट्टै लडे पनि एमाले सबैभन्दा ठूलो पार्टी बन्यो । एकताको सन्देश लिएर नै संघीय निर्वाचनमा दुवै पार्टी चुनावमा होमिएका थिए । चुनावपछि एकता भई नेकपा बन्यो । सिङ्गो नेकपा बनेपछि नेपाली कांग्रेसको अवस्था कांग्रेस आई सरह हुने अनुमान विश्लेषकहरुको थियो ।
तर नेकपा लामो समय सिङ्गो रहन सकेन । माओवादी केन्द्र र एमाले मात्रै छुट्टिएन, एमाले पनि विभाजन हुन पुग्यो । संसदीय निर्वाचनमा भाग नलिएका प्रचण्डका पूर्व सहकर्मी नेताहरुले माओवादी केन्द्रकै भण्डाफोर गरिरहेका छन् । कम्युनिस्ट पार्टीहरु यतिबेला एकले अर्कोलाई हिलो छ्याप्ने काम गरिरहेका छन् ।
यो आसन्न तीनै तहको निर्वाचनमा अझ चर्को रुपमा आउने देखिएको छ । त्यसैले पनि कांग्रेसका संस्थापक इतर पक्ष तथा कांग्रेसका अधिकांश युवा पंक्ति अहिलेको निर्वाचनमा एक्लै लड्दा पूर्ण बहुमत आउने विश्वासमा छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रलाई धेरै ठाउँमा सहयोग गर्यो । प्रचण्ड पुत्री रेणु दाहाललाई कांग्रेसले नै भरतपुर महानगरपालिकामा मेयर बनाइदियो । लगत्त संघीय चुनावमा प्रचण्ड एमालेसँग नजिकिएपछि कांग्रेस कार्यकर्ताहरु माओवादीसँग रुष्ट छन् । त्यसैले सहजै माओवादीलाई स्पेश दिन कार्यकर्ता पंक्ति पनि तयार छैन । आफूले निर्वाचन सहजै जित्ने अवस्थामा अरुलाई पद बाड्न तयार नहुने भन्दै जिल्ला र स्थानीय तहले नै टिकट बाँड्नुपर्ने पक्षमा कांग्रेसको ठूलो पंक्ति देखिएको छ ।
शुक्रबार पोखरामा मादी गाउँपालिकाको पार्टी प्रशिक्षण कार्यक्रममा महामन्त्री गगन थापाले पनि यसपार्टी स्थानीय तहलाई नै टिकटको जिम्मा दिने बताएका थिए । यो बहस कांग्रेसमा माथिदेखि तलसम्म नै छ । अघिल्लो निर्वाचनमा माओवादीले जसरी कांग्रेसलाई देखाइदियो, त्यसरी नै अबको निर्वाचनमा लोप्पा खुवाउने कांग्रेसको तयारी छ ।
अब जनताले नपत्याउने हुन् कि भन्ने कांग्रेसका संस्थापन पक्ष तथा बुढा नेताहरु मात्रै चुनाव जित्न प्रचण्ड, माधव नेपालको साथ खोजिरहेको देखिन्छ । अन्ततः टिकट बाड्ने बेलासम्म स्पष्ट रुपमा कांग्रेस एक्लै हिड्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।