स्थानीय तहको चुनाव नजिकिँदै जाँदा गृहजिल्लामा उनले पछिल्लो समय योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा व्यस्तता बढाएका छन् । यसै सिलसिलामा आज पनि उनी भरतपुर महानगरपालिका आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन जाने भएका हुन् ।
लालपुर्जा बाँड्ने काम सुकुमबासी आयोगको भए पनि मतदातालाई रिझाउन प्रचण्डले लालपुर्जा बाँड्दै छन् । सुकुमबासी आयोगको जिल्ला अध्यक्ष बद्री तिमिल्सिना माओवादी केन्द्रकै हुन् । भरतपुर-२ निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । यहाँबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेल संघीय सांसदमा निर्वाचित भएका हुन् ।
स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने भनिएपनि भरतपुर महानगरमा त्यति सहज देखिँदैन । महानगरको मेयरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ-आफ्नो दाबी गर्दै आएका छन् ।
सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने घोषणा गरेपछि प्रचण्ड १० चैतमा पहिलो पटक चितवन आए । भरतपुर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने प्रतिक्रिया दिएका थिए ।
भरतपुर महानगरको मेयरमा आफ्नी छोरी रेनु दाहाललाई पुनः उठाउने उनको आकांक्षा छ । त्यसकै लागि पनि चितवनका कांग्रेसीले नमान्दा नमान्दै उनले केन्द्रबाटै चुनावी तालमेल गर्ने निर्णय गराए । कांग्रेसले फेरि पनि आफ्नी छोरीलाई मेयरमा जिताउन सहयोग गरोस् भन्ने उनी चाहन्छन् ।
प्रचण्ड १० चैतमा आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए । चितवन आएकै दिन माडी पुगेका उनले माडी-२ मा निर्माण सम्पन्न भएको चिरौली सडकको उद्घाटन गरे । त्यसपछि माडीकै परुई खोलाको पुल र कुसुमखोलाका चेपाङ समुदायलाई निर्माण गरिदिएको चेपाङ नमुना वस्तीको उद्घाटन गरे ।
माडीका सहिद निलकण्ठ सुवेदीको घरमा उनले खाना खाए । उनले माडीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रशिक्षण दिए भने केहीलाई पार्टी प्रवेश पनि गराए । त्यसपछि उनले भरतपुर शारदानगरमा आयोजित महिला फुटबल लिगको उद्घाटन गरे ।
यहाँ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारको दायित्वभित्र आएको भन्दै रंगशालाको काम अघि बढाउन आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसदिन प्रचण्ड आफ्नै छोरीको निवासमा बास बसे ।
भोलिपल्ट ११ चैत मा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरे । ९४ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको उद्घाटनका क्रममा उनले महानगरमा धेरै विकास भएको बताए ।
आफ्नी छोरीको प्रशंसा गर्दै उनले मेयरमा महानगर र महानगरबासी प्रति सँधै सकरात्मक सोच मात्रै भेटेको बताए । विकासका हिसाबले भरतपुर महानगरलाई विदेशीले समेत विशिष्ट महानगरको रुपमा चित्रण गरेको उनले दाबी गरे ।
सोही दिन माओवादी केन्द्र जिल्ला समन्वय समितिको प्रथम विस्तारित बैठकलाई उनले सम्बोधन गरे । दुई दिन विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्र्किएका प्रचण्ड १६ चैत माा पुनः चितवन आए ।
उनले स्थानीयको विरोधबीच पूर्वी चितवनको राप्तीमा निर्माण गरिएको विद्युत सबस्टेशनको उद्घाटन गरे । बस्ती क्षेत्रमा सबस्टेशन निर्माण गरिएको भन्दै स्थानीयले भने विरोध गरिरहेका छन् ।
त्यसपछि उनले संघीय सरकारको बजेटमा बनाउन लागिएको नारायणी तटबन्धको शिलान्यास गरे । झण्डै पाँच अर्ब लागतमा बन्न लागेको २३ किमी तटबन्धको प्रचण्डले भरतपुर–२६ स्थित शिसुवारमा शिलान्यास गरेका हुन् ।
उनले महानगरको रिङरोड अन्तर्गतको पश्चिम खण्डको सडकको शिलान्यास गरे । पटिहानीमा निर्माण गरिएको बहुउद्देश्यिय कबर्ड हलको पनि उनले उद्घाटन गरे । माओवादी केन्द्रले १६ चैतदेखि ‘गाउँ नगर घर–घर जाउँ, माओवादी केन्द्र जिताउँ’ को नारा लिएर ९८ वटै वडामा चुनावी प्रचारप्रसार थालेको छ ।
त्यस्तै निर्वाचन आचारसंहिता लागू भएपछि योजनाको शिलान्यास तथा उद्घाटन गर्न नपाइने भएकाले पनि प्रचण्डले अहिले नै धमाधम शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् भने यस कार्यलाई मतदातालाई आकर्षित गर्ने रणनीतिका रुपमा पनि लिइएको छ ।