Media Network

एमाले महाधिवेशनमा भेटिएको गैंडाको कथा


खबरस्टोरी संवाददाता

९ मंसिर २०७८,बिहीबार

चितवन । शुक्रबारदेखि चितवनको सौराहामा हुन लागेको नेकपा एमालेको दशौं महाधिवेशन चर्चा निकै छ यतिबेला । 

नेकपा एमालेबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै पुनः एमाले भएपछि त्यसभित्रको एउटा समूह चोइटिएपछि हुन लागेको महाधिवेशन सबैको चासोको विषय बनेको छ । 

विशाल पार्टीबाट खुम्चिए पनि सानो नभएको चोइटिएको समूह भन्दा आफू निकै अब्बल देखाउनकै लागि पनि एमालेले महाधिवेशनमा निकै तामझाम गरिरहेको छ । 

पार्टी विभाजनपछि गत असोजमा ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन गरेर एमाले पार्टीको दशौं महाधिवेशनमा अघि बढेको हो । शुक्रबार भब्य रुपमा उदघाटन गरिने महाधिवेशनमा लाखौं मानिस उतार्ने एमालेको तयारी छ । 

निकै नै भब्य तयारी भएको चितवनमा यतिबेला एमालेका केन्द्रीय नेताहरु आइसकेका छन् भने एमाले महाधिशनकोबारेमा रिपोर्टिङ गर्न पत्रकारहरु चितवन ओर्लिएका छन् । 

महाधिवेशनको तयारी गर्दै गर्दा दशौं महाधिवेशनका लागि एमलेले छुट्टै लोगो बनायो । महाधिवेशनको लोगोलाई लिएर निकै चर्चाहरु भए । एमालेको लोगोलाई लिएर एमाले आलोचकहरुले हाँसोको पात्र बनाए । एमालेको लोगोमा गैंडाको मस्कट छ । दुई खुट्टाले उभिएको उक्त मस्कटले हँसिया हतौडा अंकित झण्डा उचालेको छ । गैंडाको मस्कटसँगै एमालेको चुनाव चिन्ह सूर्य राखिएको छ भने मस्कट र सूर्यको पृष्ठभूमिमा १० औं महाधिवेशनको संकेतस्वरुप अंग्रेजीको १० अंक लेखिएको छ । सूर्य चिन्ह र हँसिया हतौडा अंकित झण्डाको प्रयोग सामान्य भए पनि गैंडाको चिन्हलाई लिएर भिन्न चर्चाहरु भएका छन् । 

तर एमालेले मात्र होइन, अधिकांश राजनीतिक दलहरुले सम्मेलन तथा महाधिवेशनहरुमा ठाउँ विशेषलाई महत्व दिने गरेको पाइन्छ । त्यो, स्वभाविक पनि हो । एमालेले पछिल्लो तीन वटा महाधिवेशनमा प्रयोग गरेका लोगोहरु ठाउँ विशेषका थिए । 

सातौं महाधिवेशनमा अक्षरहरूको पृष्ठभूमिमा जानकी मन्दिरको चित्र प्रयो गरिएको थियो । आठौं महाधिवेशनमा बुटवलको ऐतिहासिक जितगढी किल्ला र सूर्य चिह्नलाई एमालेले लोगोका रूपमा प्रयोग गरेको थियो भने नवौं महाधिवेशनमा राष्ट्रिय झन्डा र नौ अंकलाई मिलाएर काठमाडौंका ऐतिहासिक ठाउँहरुलाई प्रतिकका रुपमा प्रयोग गरेको थियो । 

दशौं महाधिवेशन चितवनको विशेष गरी चितवन राष्ट्रिय निकुञ्ज परिसरको सौराहा क्षेत्रमा गर्न लागेको छ । चितवन राष्ट्रिय निकुञ्जको पहिचान भनेकै दुर्लभ मानिएको एक सिङ्गे गैंडा हो । यो गैडा आउजाउ गर्ने मैदान नै हो । गैंडा हेर्नकै लागि आन्तरिकदेखि बाह्य पर्यटकहरु चितवन आउने गर्दछन् । 

चितवनमा गर्न लागिएको एमालेको नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि गैंडाको चित्र रोजिनु विशिष्ट सोंचमा आधारित रहेको एमाले महाधिवेशन प्रचार कमिटीका सदस्य राजेन्द्र मानन्धर बताउँछन् । 

एमालेले महाधिवेशनको लोगोमा प्रयोग गरेको गैंडाको चर्चा भइरहँदा महाधिवेशनको रिपोर्टिङ गर्न चितवन आइपुगेका पत्रकारहरुले चित्रम कोरिएको गैंडाको मात्र होइन, महाधिवेशनस्थल वरपर घुम्दै गरेको साँच्चिकै गैंडाको अवलोकन गर्न पाएका छन् । जसलाई पत्रकारहरुले नजिकैबाट कैद गर्नेदेखि सेल्फी खिच्ने अवसरसमेत पाएका छन् । 

एमालेको दशौं महाधिवेशनको उदघाटन समारोहको मञ्चमा पनि जैविक विविधतायुक्त चित्रहरुले सजाइएका छन् । मञ्चको पृष्ठभूमिमा जंगल, नदीहरुका साथै गैंडा, हात्ती, बाघ लगायतका जनावरका चित्रहरु कोरिएका छन् । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद