काठमाडौं । नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो ।
पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १६ जना सांसद चयन गरेको छ । जसमध्ये जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापामगर ‘बादल’ र कुलभक्त शाक्य गरी चार जना समेटिएका छन् । त्यसैगरी, खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, यशोदा कुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल समेटिएका छन् ।
त्यस्तै, थारु कलस्टरबाट कृपाराम राणा परेका छन् भने दलिततर्फ विष्णुमाया वि.के. र नीता घतानी छन् ।
एमालेले मधेसीतर्फ रिङ्ला यादव, यशोधा कुमारी यादव, चन्द्रेश्वर मण्डल परेका छन् । मुस्लिमतर्फ भने एमालेले साजिदा सिद्दीकीलाई सांसद् बनाउने भएको छ ।
एमालेको सबै शीर्ष नेताको हैसियतमा सम्भवतः एमाले संसदीय दलको नेता रामबहादुर थापा बादल हुनेछन् ।